म्याग्दी, जेठ २७ गते । म्याग्दीको मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । रु ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना मार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसंख्या लाभान्वित भएका छन् । घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाले बताउनुभयो ।
उहाँका अनुसार नेपाल पानीका लागि स्वास्थ्य ९नेवा० संस्थाको रु। ३३ लाख ३७ हजार तीन सय २५ र मालिका गाउँपालिकाको रु १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले रु १७ लाख आठ सय ९९ बराबरको श्रमदान गरेका छन् ।
पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ । चार वटा मुहानको पानीलाई १२ हजार पाँच सय २७ मिटर लामो मुुख्य र शाखा पाइपलाइन मार्फत नौ वटा ट्याकी बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिनुभयो ।
म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका बासिन्दाले यसअघि सार्वजनिक धारा मार्फत खानेपानी उपभोक्ता गर्दै आएका थिए । करिब २० वर्षअघि निर्माण भएको योजनाको संरचना जिर्ण हुँदा पानी आपुर्ति र वितरणमा समस्या भएको थियो ।
घरघरमा धारा जडान गरेर पानी वितरण भएपछि समयको बचत, झञ्जटबाट मुक्ति, सरसफाईमा सहज भएको स्थानीयबासी बलबहादुर रोकाले बताउनुभयो । उपभोक्तामा खुसीयाली छाएको उहाँले बताउनुभयो । धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण भएको छ । पानीको मितब्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि धारामा मिटर जडान भएको छ ।
मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा चालु आर्थिक वर्ष २०८१ र८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुम्पीपार र डाडागाउँमा तीन वटा योजना निर्माण भएको छ । ती योजनाहरुबाट चार सय घरपरिवार लाभान्वित भएको वडा अध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुम्पीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उहाँले बताउनुभयो ।