पर्सा, जेठ २५ गते । वीरगञ्ज महानगरले यहाँको बाल उद्यान (चिल्ड्रेन पार्क)लाई नयाँ स्वरुप र ढाँचामा नाम फेरेर शङ्खधर साख्वः उद्यान (पार्क_का रूपमा सञ्चालनमा ल्याएको छ । सो उद्यान लामो समयदेखि बन्द रहेको थियो ।

विगतमा १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कको अतिक्रमण हटाउँदै अहिले भने दुई बिघा क्षेत्रमा फैलिएको छ । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले शङ्खधर साख्वः उद्यान केवल सौन्दर्यकरणको परियोजना मात्र नभएर वीरगञ्जवासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको बताउनुभयो । “शङ्खधर साख्वः पार्कलाई हामी मनोरञ्जन, स्वास्थ्य र समुदायको मुटु बनाउनेछौँ”, उहाँले भन्नुभयो, “यसले हाम्रो संस्कृतिलाई सम्मान गर्दै समृद्ध नगर निर्माणको दिशामा योगदान पुर्याउने छ ।”

महानगरका अनुसार रु एक करोड २५ लाख खर्च गरेर उद्यानको पूर्वाधार निर्माण तथा सौन्दर्यकरणको काम गरिएको हो । अहिले उद्यानमा पानीको फोहोरा, खुलामञ्च, वनभोजस्थल, नृत्यस्थल, टेबलटेनिस कोर्ट, योगस्थल र प्रभातयात्रा गर्न मिल्ने ट्रयाकको पनि सुविधा छ । उद्यानको सुरक्षाका लागि चौतर्फी पर्खाल लगाइएको छ । उद्यानमा हरेक दिन बिहान ६:०० देखि ८:०० बजेसम्म र बेलुका ५:०० देखि ८:०० बजेसम्म खुला रहने महानगरले जनाएको छ ।