काठमाडौँ, जेठ २४ गते । आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तरराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य समितिले स्थापना गरेको रु दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कारको यो तेस्रो संस्करण हो । विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार हितानलाई प्रदान गर्नुभयो । प्रमुख अतिथि काइँलाले मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकामा कृतिकार हितानलाई बधाइ दिनुभयो ।
नेपाली सेनाका पूर्वजर्नेल साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, प्रहरीका अतिरिक्त साहित्यका सबै पाठकलाई रोचक रहेको जाकारी दिनुभयो । विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ ।
आख्यानकार नयनराज पाण्डेले लेखनका अनेक विषयमा अहिले युद्ध साहित्य हाबी हुँदै आएको बताउनुभयो । समारोहका अध्यक्ष कवि हिक्मत थापाले संस्थाले प्रवासमा रहेका नेपाली प्रतिभालाई समेट्दै प्रोत्साहन गर्न यस्ता पुरस्कार स्थापना गरी वितरण गर्दै आएको जानकारी दिनुभयो ।
कवि रमेश पौडेलले बेलायती सेनामा कार्यरत नेपाली सर्जकको सिरानीमा बन्दुक भए पनि हृदयको हार्दिक कलमले मल्हम लाउन सिपालु भएको दाबी गर्नुभयो । पुरस्कृत प्रतिभा विजय हितानले आदि गायक मास्टर मित्रसेन थापाको जीवनी माथि लामो खोज र अनुसन्धान पछि सो कृति प्रकाशन गरेको र यो पुरस्कारले युद्ध साहित्यको अनुसन्धानमा अगाडि बढ्न प्रेरण मिलेको जानकारी दिनुभयो ।