बागमती, जेठ ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले प्रदेशमा रूग्ण रहेका उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । आजदेखि सुरू भएको बागमती प्रदेशसभाको सोह्रौँ अधिवेशन बैठकमा शुभकामना मन्तव्य दिँदै मुख्यमन्त्री लामाले लामो समयदेखि बन्द रहेका हेटौँडा सिमेन्ट उद्योग, हेटौँडा कपडा उद्योगलगायत प्रदेशका उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्ने प्रयासमा प्रदेश सरकार रहेको बताउनुभयो ।
उद्योग सञ्चालन नगरी रोजगारी प्रवर्द्धन गर्न नसकिने उल्लेख गर्दै उहाँले रूग्ण उद्योग सञ्चालनका लागि सङ्घीय सरकारसँग पहल भइरहेको जानकारी दिनुभयो । सरकारको एकल प्रयासले मात्र प्रदेशलाई समृद्ध बनाउन नसकिने भएकाले सबैको सकारात्मक सहयोग, समन्वय र एकता आवश्यक रहेको औँल्याउँदै मुख्यमन्त्री लामाले प्रदेशको समग्र विकास र समृद्धिलाई सबैसँग एकता र सहकार्य गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सीमित स्रोतसाधनलाई समुचित प्रयोग गरी समृद्ध प्रदेश निर्माणका लागि सरकार लागि परेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले सरकार लोकप्रियता नभई प्रदेश र नागरिकको आवश्यकताको आधारमा काम गरिरहेको दाबी गर्नुभयो ।
प्रदेश सरकारको काम सरल र सहज बनाउन जिआइ ओएमएस सिस्टम जडान गरेको बताउँदै मुख्यमन्त्री लामाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार आग्रह गर्नुभयो ।
“हामीसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकार इमान्दार देखिएको छैन”, उहाँले भन्नुभयो, “अघिल्लो सरकारले ल्याएका योजनामा बजेट विनियोजन नगर्ने र स–साना टुक्रे योजनाहरू सरकार बनाउन उद्दत देखिएको छ, यो हामीलाई स्वीकार्य छैन ।” ठूलाठूला योजनामा बजेट नछुट्टयाउने र स–साना योजना बनाउन सरकार लागेको छ, यो ठीक होइन उहाँले भन्नुभयो ।
प्रदेशसभाले बनाएका कतिपय कानुनहरू संशोधन र परिमार्जन गर्नुपर्ने अवस्थामा रहेको उल्लेख गर्दै उहाँले ऐन कानुनहरू परिमार्जनका लागि सुझाव समिति बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा ९एमाले० संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारको लोकप्रिय काम देखेर केही राजनीतिक शक्तिहरूमा छटपटी बढ्ेको बताउँदै बाह्य शक्तिहरूले मुलुकलाई अस्थिरता ल्याउन खोजिरहेको बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता उद्धव थापाले ठूला दुई दलको वर्तमान गठबन्धन सरकारले जनताको भरोसायोग्य काम गर्न नसकेको आरोप लगाउँदै प्रदेशलाई समृद्ध बनाउन सरकारले कुनै ठोस योजना अघि बढाउन नसकेको गुनासो गर्नुभयो ।
प्रदेशसभाको बैठकमा नेकपा ९एकीकृत समाजवादी० पार्टी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, नेपाल मजदुर किसन पार्टी संसदीय दलका नेता सुरेन्द्रराज गोसार्इं, हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य सरिता खड्गी शुभकामना व्यक्त गर्नुभयो ।
आजको प्रदेशसभा बैठकमा सभामुख पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त भएको प्रदेशसभाको छैटो अधिवेशन आह्वानसम्बन्धी पत्र, विधेयक प्रमाणीकरणसम्बन्धी विभिन्न पत्रहरू वाचन गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक भोलि जेठ ६ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक सकिएको छ ।