रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।
काठमाडौँ, जेठ १ गते ।
तीन वर्षदेखि चलिरहेको युक्रेन र रुसबीच हुने भनिएको शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहभागिता नहुने भएको छ । टर्कीको इस्तानाबुलमा हुने भनिएको शान्ति वार्तामा सहभागी हुनका लागि क्रेमलिनले जारी गरेको नामावलीमा राष्ट्रपति पुटिनको नाम उल्लेख नभएको बीबीसीले जनाएको हो ।

क्रेमलिनका अनुसार इस्तानबुलमा हुने भनिएको शान्ति वार्तामा रुसी प्रतिनिधि मण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेन्डिस्कीले गर्नुहुने समाचारमा जनाइएको छ ।

यता युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसअघि रुसी राष्ट्रपति सहमत भए मात्रै वार्तामा भाग लिने जनाउनुभएको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले व्यक्तिगत रुपमा आफु रुसी राष्ट्रपति पुटिनसँग भेट्न चाहेको बताउनुभएको थियो । युद्धरत दुवै देशका राष्ट्राध्यक्ष बैठकमा आमने–सामने हुने भएपछि इस्तानाबुलमा शान्ति वार्ताको तय हुने भनिएता पनि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिन आए मात्रै सीधा वार्तामा सहभागी हुने प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी हुनसक्ने बताइएता पनि रुसी राष्ट्रपति पुटिन वार्तामा नआउने भएपछि अमेरिकी राष्ट्रपति पनि शान्तिवार्तामा सहभागी नहुने बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपति पुटिन उक्त वार्तामा सहभागी भएको खण्डमा मात्रै आफुले भाग लिने पूर्व संकेत गर्नुभएको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने बिहीबारै टर्कीको राजधानी अंकारामा राष्ट्रपति रेसेप तैयप एर्दोआनसँग भेटवार्ता गर्ने तालिका छ ।
तर, युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसी समकक्षी पुटिनलाई शान्ति वार्तामा भाग लिन आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।