म्याग्दी, वैशाख २४ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५र७६ देखि शुरु भएको योजना सात वर्षमा सम्पन्न भएको हो । करिब रु। पाँच करोड लगानीमा चार वटा योजनामा निर्माण भएको योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएका कार्यालयका प्रमुख सिनियर डिभिजनल प्रमुख झलकमोहन ओझाले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा बिनियोजन भएको रु। २० लाख बाहेक गत आर्थिक वर्षसम्म उक्त योजना निर्माणमा रु। चार लाख ६७ लाख ९६ हजार खर्च भएको छ । पर्याप्त बजेट बिनियोजन नहुँदा योजना निर्माण गर्न सात वर्ष लागेको हो ।
गरेकखोला, चिसेपानी, गरिलाखोर र ओरालखर्कको मुहानको पानीलाई फरक फरक ठाउँमा निर्माण भएका रिजर्भ टंकीमा संकलन गरेर पाइपलाइन मार्फत घरघरमा लगेर वितरण गरिएको दोवा खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष यामबहादुर गर्बुजाले बताउनुभयो ।
मुहान, टंकी र मुख्य पाइपलाइनको भौतिक संरचना निर्माणमा सघाएको कार्यालयले मुख्य पाइपलाई निर्माण गरेको हो । शाखा पाइपलाईन खन्न श्रमदान गरेका उपभोक्ताले घरघरमा निजी धारा आफ्नै लगानीमा बनाएका हुन् ।
योजनालाई व्यवस्थित र दीर्घकालिन रुपमा सञ्चालन गर्न प्रत्येक धारामा मिटर जडान गरेर न्युनतम शूल्क निर्धारण गरिएको उपभोक्ता समितिका पूर्व अध्यक्ष डमबहादुर पूर्जाले बताउनुभयो ।
अन्नपूर्ण–१ का वडा अध्यक्ष दिलीप गर्बुजाका अनुसार औल र मारका टोलका बासिन्दा र गाईबस्तुले प्रयोग गर्ने खानेपानीको मुहान यसअघि एउटै थियो । आयोजना निर्माण भएपछि शुद्ध खानेपानी उपभोग गर्न पाएका उहाँले बताउनुभयो ।
स्थानीयबासी तालदेवी पुनले घरकै धारामा पानी आपुर्ति भएपछि समयको बचत भएको र झञ्जट हटेको बताउनुभयो । “पानी लिनका लागि मुहानमा जान, आउन लाग्ने समय र झञ्जट हटेको छ,” उहाँले भन्नुभयो “शुद्ध र सफा पानी भएपछि दुषित पानीका कारण हुने स्वास्थ्य समस्यामा पनि कमि आएको छ ।”