काठमाडौँ, वैशाख २४ गते । एक पटक कक्षाबाट बाहिरिँदै गर्दा लालदेउसा राई भन्दै हुनुहुन्थ्यो, पत्रकार पहिले जन्मिए, त्यसपछि मात्र संसारमा पत्रपत्रिकाको जन्म भएको हो । केही जिज्ञासु विद्यार्थी कक्षा कोठा बाहिर पनि झ्याम्मिएर उहाँको रमाइलो कुरा सुनिरहेका थिए । हल्का ढङ्गले अभिव्यक्त उहाँको संक्षिप्त र अनौपचारिक तर्कले मलाई पनि तान्यो । तर आज जति जति समय बित्दै जाँदैछ, म उति बुझ्दैछु उहाँले भन्नुभएको कुरा कति गहिरो रहेछ । यदि पत्रकारितालाई सूचना र समाजका विभिन्न तह र तप्काहरुबीचको अन्तरसम्बन्ध अनि एकीकरणको औजार मान्ने हो भने यस्तो कार्य त मानव सभ्यताको प्रारम्भिक समयदेखि नै हुँदै आएको छ । फरक यति हो, समयक्रममा विकसित हुँदै गएका साधनले मानव सञ्चारलाई झनझन सशक्त बनाउँदै लगेका छन् । पत्रकारहरुले पत्रकारिता गर्नका लागि आफ्नो समयमा उपलब्ध साधनहरुलाई अङ्गीकार गर्दै आएका छन् । यति भने पछि अझ प्रष्टसँग बुझ्न सकिन्छ, पत्रकारिता पत्रकारभन्दा पछि आएको हो भन्नुको अर्थ के हो रु

नेपालको मात्र होइन, संसारकै निरन्तर चलिरहेको पुरानो अखबारका रुपमा सुपरिचित गोरखापत्रको वार्षिकोत्सवलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा समेत मनाउँदै गर्दा मलाई पत्रकार र पत्रकारितासम्बन्धी त्यो पुरानो प्रसङ्गको सम्झना हुनुको विशेष कारण छ । नेपालमा १२५ वर्षदेखि एउटा अखबार निरन्तर बजारमा आइरहेको छ, यो राष्ट्रिय गौरवको विषय हो । गोरखापत्र सुरु हुँदा संसारमै रेडियो प्रसारण त सुरु भएको थिएन भने टेलिभिजनको त कुरै भएन, इन्टरनेट र यसका उपक्रमहरु त धेरैपछि सुरु भए । गोरखापत्रको अत्यन्त औपचारिक टिप्पणीबाट माथि उठेर गम्ने हो भने राष्ट्रिय पत्रकारिता दिवसका रुपमा हामीले एउटा यस्तो दिन पाएका छौँ, जुन दिन हामी समकालीन नेपाली समाजमा आमसञ्चार माध्यमको स्थान, विश्वसनीयता र प्रभावको समीक्षा गरेर सार्थकरुपमा मनाउन सक्दछौँ । आजको नेपाली पत्रकारिताको समाजशास्त्र बुझ्न ह्यारोल्ड लासवेलको वहुचर्चित सञ्चार नमूनाका आधारमा शोध प्रश्न बनाउन सकिन्छ ः कसले के भन्यो, कुन माध्यमबाट, कसलाई, अनि के प्रभाव पा¥यो रु आजको नेपाली आमसञ्चार परिदृष्यमा सम्प्रेषक, सन्देश, माध्यम, प्रापक र प्रभावको विश्लेषण गर्दा सादृष्य हुने चुनौतीहरुमध्ये माध्यम र त्यसैसँग जोडिने प्रभावको विषय सबैभन्दा उल्लेखनीय देखिन्छ ।

आज पत्रपत्रिका वा छापा ओरालो लागिरहेका छन्, समाज र शासकको निगरानी गर्ने अनि सामाजिक मूल्य र मान्यताको प्रसार गर्ने भूमिकामा रहेका पत्रकारहरु उन्नत सञ्चार प्रविधिले अस्तित्वमा ल्याएको नयाँ माध्यममा अभ्यस्त हुन सङ्घर्षरत छ । यो विश्वभरिको कथा हो, नेपाल पनि अपवादका रुपमा रहन सक्दैन । पत्रपत्रिका नरहने भोलिको अवस्थामा पनि पत्रकारिता रहनुपर्नेछ, पत्रकारहरुले गर्नुपर्ने अबको सङ्घर्ष यही हो । राज्य र समाजले पनि सोच्नुपर्ने विषय हो यो ।

सञ्जालको निर्माण त मानव सभ्यतामा अहिलेसम्म अस्तित्वमा आएका सबै सञ्चारमाध्यमका प्रवृत्ति नै हो । तर इन्टरनेटले जन्माएको सञ्जाल अभूतपूर्व छ, खासगरी सामाजिक सञ्जालले एकातिर व्यक्तिलाई अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अभूतपूर्व रुपमा सशक्त बनाएको छ । अर्कोतिर यसले समाजको सूचना र सञ्चार आवश्यकता जिम्मेवारीपूर्वक पूरा गर्न अत्यावश्यक सम्पादित सामग्रीको प्रसार गर्ने पत्रकारिताकासामु गम्भीर चुनौती प्रस्तुत गरेको छ । आज सूचना र सञ्चार जगत्मा सङ्गठित आम सञ्चारमाध्यमको प्रभुत्वको अन्त्य मात्र भएको छैन, अन्र्तवस्तुका प्रयोगकर्तामा सामग्रीको समीक्षा गर्ने क्षमतासमेत अकल्पनीय रुपमा बढको छ । यस्तो समयमा खासगरी कृत्रिम बौद्धिकतासहितको सूचना प्रविधिको यथोचित र नैतिक प्रयोगको सीपका दृष्टिले नेपाली पत्रकारहरुको पुर्नजन्म हुन जरुरी छ ।

सञ्चार प्रविधि आज कसरी दुईधारे तरबार बन्न पुगेको छ भन्ने कृत्रिम बौद्धिकताको नैतिकता बेगरको प्रयोगले देखाएको छ । उत्तर आधुनिक र सूचना समाजमा छवि र प्रतिनिधित्वका सन्दर्भमा आएको उन्नतिले सत्यलाई यति बहुरुपमा प्रस्तुत गरिरहेको छ, डिजिटल मिडियाका प्रयोगकर्ताका निम्ति सत्यापन निकै कठिन हुन पुगेको छ । साथै, पत्रकारिताको ज्ञान र सीपबाट सुसज्जित व्यावसायिक पत्रकारहरुका सामु इन्टरनेटको उपज सामाजिक सञ्जाल र अन्र्तवस्तुको द्रुत उत्पादकका रुपमा कृत्रिम बौद्धिकताका औजारहरुले मूलतः नैतिक चुनौती तेस्र्याएका छन् । अहिले तत्कालीन रुपमा पत्रकारको रोजगारी र जीविकोपार्जनमाथिको चुनौतीका रुपमा देखिएको कृत्रिम बौद्धिकताबाट तत्क्षण सामग्री तयार गर्ने प्रवृत्तिले पनि अन्ततः समाजलाई नैतिक सङ्कटमा पु¥याउने छ । गहन अनुसन्धान, सिर्जनशीलता, लगनशीलता र निरन्तरताको कसीमा दरिएका होइनन्, कम्प्युटरमा कमाण्ड दिएर तत्क्षण हासिल गरिएका सामग्रीले अन्ततः समाजलाई नै भूलभूलैयाको वातावरणमा रुमल्याउने छ ।

विश्वमा लिपीको विकासपछि एक समयमा हस्तलिखित पुस्तक र सूचनापत्र निस्कनु स्वभाविकै थियो । तर सञ्चारका ती साधन अहिलेका सञ्चारमाध्यमजस्ता व्यापक र प्रभावशाली थिएनन् । पन्ध्रौँ शताब्दीको मध्यमा गुटेनवर्ग प्रेसले माध्यमको स्वरुप नै परिवर्तन गरिदियो र आमसञ्चार माध्यमको युग सुरु भयो । सत्रौँ शताब्दीको उत्तराद्र्धासम्म छापिएका पत्रपत्रिका निस्कन थाले र त्यस बेलासम्म छापाका मानिसको समय सुरु भइसकेको थियो । त्यसबेला किताबजस्तो बाँधिएको होइन, खुला चौडा कागजमा सूचना र टिप्पणीसमेत छापेर वितरण गराउने कार्यलाई पत्रकारिता भन्न थालियो । तर सूचनाको आदानप्रदान त त्यसअघि पनि त हुने गर्दथ्यो । मानिस त स्वभावैले असञ्चारको अवस्थामा रही रहन सक्दैन, कसले सञ्चार कसरी वा कुन माध्यमबाट गर्दछ भन्ने मात्र हो ।

समयक्रममा पत्रकारिताको अर्थ विस्तार हुँदै गयो, पत्रमा सूचना प्रस्तुत गरेर यस्तो नाम हासिल गरेको पत्रकारिता रेडियोमा बोलीमार्फत र टेलिभिजनमा ध्वनि र चित्रमार्फत झन प्रभावकारी रुपमा हुन थाल्यो । आज सञ्चार प्रविधिको सम्मिलनका कारण उत्पन्न माध्यमसमेतको सम्मिलनको स्थितिले पत्रपत्रिका बेगरको पत्रकारिताको बाटो बनाइसक्यो । अध्येताहरु प्रयोगसिद्ध अनुसन्धानका आधारमा भन्दै छन्, धारणा निर्माण गर्ने भूमिका अब परम्परागत पत्रकारिताबाट सामाजिक सञ्जाल र डिजिटल मिडियामा सरिसक्यो । बीसौँ शताब्दीको सुरुआतमा अखबारको प्रभावलाई मध्यनजर गर्दै विज्ञहरु भन्दथे, बाह्य संसारको तस्बिर सर्वसाधारणको मस्तिष्कमा कुँदिदिने आम सञ्चारमाध्यम जनमत निर्माता हुन् । आज उत्तर आधुनिककालसम्म आइपुग्दा सञ्चार प्रविधिको यति विकास भएको छ, कुनै घटना, विचार वा संसारिक विषयका कुनै पाटोलाई पुनर्निर्माण वा प्रतिनिधित्व गरेर होइन, हुँदै नभएको देखाउँदा पनि सजिलै थाहा पाउन सकिँदैन । गहिरो मिथ्या, गलत सूचना सबै यति सहजै र व्यापकरुपमा फैलन सक्छन, सम्पादित सामग्रीको महत्व झन बढेको छ । यसरी इन्टरनेटको द्रुत प्रवाह र कृत्रिम बौद्दिकताको तीव्र गतिको यो समयमा पत्रकारिताको महत्व झन बढेको छ ।

आज पत्रकारिता नयाँरुपमा छ, ‘डिजिटल जर्नालिजम’ । आउने समयमा कागजमा त पत्रपत्रिका नभेटिन सक्छ । तर पत्रकारिता त रहनेछ, किनकी सूचना, अभिप्रेरणा, समाजका विभिन्न तह र तप्काबीचको अन्तरसम्बन्धको निरन्तरता र एकीकरण अनि ज्ञानको पुस्तान्तरण र मनोरञ्जनका लागि सशक्त पत्रकारिता चाहिन्छ । अफवाह, बनावटी सूचना र भ्रमहरुको निस्सासिँदो परिवेशलाई चिर्न ज्ञान र सीप भएका नैतिक सञ्चारकर्मीहरुले अघि बढाउने व्यावसायिक पत्रकारिताको आवश्यकता कृतिम बौद्धिकताको चरमोत्कर्षमा झन बढी पर्नेछ । त्यसैले कागजमा प्रस्तुत गरिने सूचना वा टिप्पणीका सामग्रीलाई पत्रपत्रिका भन्ने हो भने आउने कुनै समयमा पत्रपत्रिका नरहन पनि सक्छ । सन् २००४ मै अमेरिकी पत्रकार फिलिप मेयरले सन् २०४३ मा अमेरिकामा कागजमा छापिने अखबारको अन्तिमप्रति छापिने भविष्यवाणी गरिसकेका छन् । आज न राजनधानीको भूगोलपार्कमा अखबारहरु भुइँमा बिछ्याएर बेचेको देखिन्छ, न पत्रपत्रिकाका पसलमा अखबारहरु लहरै झुण्ड्याइएको देखिन्छ ।

जसरी पत्रपत्रिकाभन्दा पहिले पनि पत्रकारिताको प्रारुपको आकलन गर्न सकिन्छ । त्यसैगरी पत्रपत्रिका नरहने अवस्थामा पनि पत्रकारिता रहनेछ । अबको संसारमा नबाँधिएको, समाचार र समाचारजन्य मानव रुचिका सामग्री छापिएका मूल्य अङ्कित र मूल्य तिर्ने जोसुकैले प्राप्त गर्नसक्ने खुला पानालाई समाचारपत्र, अखबार वा पत्रिका भन्ने हो मिल्दैन । त्यसैगरी त्यस्ता पत्रपत्रिका प्रकाशन गर्ने कामलाई पत्रकारिता भनिन्छ भन्यो भने पनि पत्रकारिताको परिभाषा पूर्ण हुन सक्दैन । अहिले जसरी परम्परागत पत्रकारिता र नयाँ पत्रकारिता भन्ने भेद छुट्टयाउन थालिएको छ, आउने समयमा त्यो विभेद हराउनेछ र केवल पत्रकारिता जीवित रहनेछ, भौतिक रुपमा कागजमा छापिने अखबार विलुप्त होलान, डिजिटल स्पेशमा पत्रकारिता मुखरित हुनेछ ।

जसरी कुनै बेला बोली वा श्रवण अनि त्यसपछि लिपी र छापाको प्रभावको युग थियो, त्यसगरी यो युग, मक्लुहानको इलेक्ट्रिक युग वा हामीले देखेको इन्टरनेट र यसका उपजको प्रभावको युग हो । त्यसैले आजका नेपाली पत्रकारहरुको चुनौती पत्रकारिताको नयाँ सुरुआतलाई प्रभावकारी रुपमा अङ्गिकार गर्ने क्षमता हासिल गर्नु हो । त्यसैले नयाँ सन्दर्भमा समाजलाई सुसूचित गर्ने, शक्तिमा रहनेहरुको निगरानी गर्ने, समाजका अङ्गहरुलाई जोड्ने आफ्नो भूमिकाको निरन्तरताका लागि पत्रकारहरुले सङ्घर्ष गर्नुको विकल्प छैन । यो सङ्घर्ष एक्काइसौँ शताब्दीको एक चौथाइ व्यतीत गर्न लागिएको समयमा बदलिएको सूचना र सञ्चारको पारिस्थितिकीसँगको अनुकूलनको प्रयत्न हो ।

पत्रकारहरुको उपस्थिति बिना लोकतान्त्रिक खुला र बहुलवादी समाजको अस्तित्वको कल्पना गर्न सकिँदैन । तर समाज विकासको नियमकै अधिनमा पत्रकारिताको माध्यमको परिवर्तन वा रुपान्तरण हुँदै आएको छ । सीपी स्कटले यही सन्दर्भमा सय वर्षअघि नै अखबारको नैतिक र भौतिक उपस्थितिलाई औँल्याएको हुनुपर्दछ । अखबारको त्यो बेलादेखिको नैतिक उपस्थिति भनेको पत्रकारिताजस्तो पवित्र पेसा र शताब्दीऔँको अभ्यासबाट स्थापित यसको व्यावसायिक धर्म नै हो । पत्रकारिताको भौतिक उपस्थितिका रुपमा कुनै बेला छापा थियो, अबको समयमा नरहन सक्छ । तर पत्रकारहरुको समयानुकूल सिर्जनशीलता र अनुकूलनको क्षमताले पत्रकारितालाई अघि बढाउँदै लैजानेछ भन्ने विश्वास गर्न सकिन्छ । यो विश्वास पूरा हुन नसकेको अवस्था आयो भने चाहीँ के हुन्छ रु पत्रकारहरुले पत्रकारितालाई डो¥याउन सक्दैनन्, अनि माध्यम र सन्देश दुवै पत्रकारिताको मूल्य र मान्यताविमुख हुन पग्दछन्, जसले गर्दा प्रभावले अन्यौलग्रस्त अवस्था सिर्जना गर्नेछ ।