काठमाडौँ, बैशाख १८ गते । विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म सडक आन्दोलन नछाड्ने अडान लिएर विगत २९ दिनदेखि आन्दोलनरत शिक्षकहरु अन्ततः सहमति लिएर कर्मथलो फर्किने भएका छन् । आगामी असार १५ गते प्रतिनिधिसभाबाट विद्यालय शिक्षा ऐन जारी गर्ने सहमति भएसँगै असार १५ गतेसम्मका लागि शिक्षकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

शिक्षकहरूले उक्त मितिमा पनि ऐन जारी नभएको खण्डमा अहिलेको भन्दा ठुलो आन्दोलन चर्काउने चेतावनी दिएका छन् । आन्दोलनका क्रममा शिक्षकहरूले एक थान ऐन हातमा नबोकी घर नफर्किने अडान राखेका थिए । तर, अहिले भने ऐनको हकमा उधारो सहमति गरेर फर्किएका छन् ।

‘कि जितिन्छ, कि बितिन्छ’ भन्ने अडानसहित चैत २० गतेबाट सडक आन्दोलनमा उत्रिएका शिक्षकहरू ७० लाख विद्यार्थीको पठनपाठन ठप्प पारेर, एसईईको उत्तरपुस्तिका परीक्षण रोकेर र कक्षा १२ को परीक्षा सार्न लगाएर आन्दोलनमा उत्रि वार्तामासमेत नबस्ने अडान लिँदै आएका थिए । सुरुमा शिक्षा मन्त्रालयले गठन गरेको सुरुको वार्ता टोलीलाई त ‘हामीलाई वार्ता नभई विद्यालय शिक्षा ऐन चाहिएको हो,’ भन्ने जवाफ फर्काएको शिक्षक महासङ्घले अन्नतः सरकारसँग ९ बुँदे सहमति भएसँगै २९ दिन लामो आन्दोलन रोक्ने भएको हो।

महासङ्घ र सरकारबीचको उक्त सहमति मन्त्रिपरिषद्ले अनुमोदन गरी कार्यान्वयनमा प्रतिबद्धता जनाएपछि महासङ्घले आन्दोलनका सबै कार्यक्रम स्थगित भएको भन्दै विज्ञप्ति जारी गरेको छ । शिक्षा मन्त्रालयमा लगातार तीन दिनसम्म विभिन्न चरणमा भएको वार्तामा ९ बुँदामा सहमति जुटेको थियो। सहमतिअनुसार सरकारले ६० दिनभित्र शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाएको छ । असार १५ गतेभित्र शिक्षा ऐन जारी गर्न प्रयास गरिने भनी सत्तापक्षका प्रमुख दुई दलका प्रमुख सचेतक र प्रतिनिधिसभाको शिक्षा समितिका सभापति अम्बरबहादुर थापाले पनि संयुक्त लिखित प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गरिने भएको हो ।