मकवानपुर, वैशाख १८ गते । हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको यहाँको राक्सिराङ गाउँपालिकामा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले पूर्वसूचना दिने सेन्सरसहितको साइरन प्रणाली जडान गरिने भएको छ ।

साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहयोगमा यस्तो यन्त्र राक्सिराङ गाउँपालिकालाई हस्तान्तरण भइसकेको र जडान कार्य अगाडि बढ्ने सो संस्थमा अध्यक्ष श्रीराम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रविधिले आकाशमा विद्युतीय चार्जको अनुभूति गरेपछि १६ किलोमिटरको रेडियसभित्रका स्थानीय बासिन्दालाई १५ मिनेटअघि नै चट्याङको चेतावनी दिने साइरन बज्ने छ ।  

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले राक्सिराङ चट्याङको उच्च जोखिमयुक्त क्षेत्र भएकाले यस्तो प्रविधि अत्यन्तै उपयोगी हुने बताउनुभयो । उहाँले यसबाट पूर्वजानकारी मिल्ने भएकाले चट्याङबाट सचेत रहन र समयमै सुरक्षा सावधानी अपनाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

राक्सिराङ–१ को राम्चे, वडा नं २ र ३ को भाट्टी, वडा नं ४ कार्यालय, वडा नं ५ को चैनपुर, ६ को सिलिड्डे विद्यालय, ७ को गर्लिङ, ८ को पाङ्बुङ र वडा नं ९ को प्रहरीचौकी कान्द्राङमा साइरन प्रणाली जडान गरिने छ ।

पिपुल इन निडको आर्थिक सहयोग र साउथ एसियन लाइट्निङ नेटवर्कको प्राविधिक सहकार्यमा एक मुख्य सेन्सर र आठवटा साइरन सिष्टम वितरण गरिएको हो । अब स्थानीयलाई यसबारे आवश्यक सचेतना र जानकारी दिएर जडानको काम अगाडि बढाइने अध्यक्ष मल्लले बताउनुभयो ।