बेइजिङ, वैशाख १५ गते । चीनका एक उच्च आर्थिक अधिकारीले सोमबार बेइजिङ संयुक्त राज्य अमेरिकासँगको कठिन व्यापार युद्धमा ‘इतिहासको सही पक्षमा’ रहेको बताएका छन् । जनवरीमा राष्ट्रपति पदमा फर्केपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा १० प्रतिशत भन्सार शुल्क र चीनबाट आउने धेरै उत्पादनहरूमा छुट्टै एक सय ४५ प्रतिशतको भन्सार शुल्क लगाउनुभएको छ ।

बेइजिङले अमेरिकी वस्तुहरूमा आफ्नै एक सय २५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको छ ।

बेइजिङमा एक पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ आर्थिक योजनाकार झाओ चेन्सिनले बेइजिङ ‘इतिहासको सही पक्षमा’ रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा अधिकारीहरूले गतिरोधको प्रभावबाट चीनको कमजोर अर्थतन्त्रलाई बचाउन थप कदमहरू चाल्ने प्रतिबद्धता जनाएका थिए ।

“हामी दृढतापूर्वक विश्वास गर्छौं कि यदि तपाईं विश्व र सत्यको विरुद्ध हुनुहुन्छ भने तपाईंले आफूलाई मात्र अलग्याउनु हुनेछ”, झाओले भन्नुभयो, “विश्वसँग र नैतिकतासँग यात्रा गरेर मात्र हामी भविष्य जित्न सक्छौँ ।”

वासिङ्टनको ‘एकपक्षीय र धम्कीपूर्ण व्यवहार’ को निन्दा गर्दै उहाँले भन्नुभयो, “संयुक्त राज्य अमेरिकाले हावामा कार्ड खेल्छ, धम्की दिन्छ र आफ्नो शब्दमा फर्कन्छ ।”

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आइतबार ट्रम्पको हलचल मच्चाउने भन्सार शुल्क नीतिको बचाउ गर्नुभयो । उहाँले यसलाई ‘रणनीतिक अनिश्चितता’ सिर्जना गर्ने माध्यमका रूपमा बताउनुभयो । 

दर्जनौँ देशले वासिङ्टनसँग सम्झौता गर्न र उच्च, देश–विशिष्ट दरहरूबाट बच्न जुलाईमा समाप्त हुने ९० दिनको समयसीमा सामना गर्नुपरेको छ ।

यद्यपि बेइजिङले ‘अन्त्यसम्म’ व्यापार युद्ध लड्ने वाचा गरेको छ र वासिङ्टनसँग वार्ता गरिरहेको अमेरिकी दाबीलाई अस्वीकार गरेको छ ।

तर उसले विश्वव्यापी आर्थिक परिवर्तनहरूले लामो समयदेखि निर्यातमा निर्भर आफ्नो अर्थतन्त्रलाई तनाव दिएको स्वीकार गरेको छ ।

“बाह्य दबाबहरू बढ्दै छन्”, चीनको श्रम मन्त्रालयका यु जियाडोङले सोमबार भन्नुभयो, “अमेरिकाले लगातार उच्च–भन्सार शुल्क उपायहरू लागू गर्नाले केही निर्यात–उन्मुख कम्पनीहरूका लागि उत्पादन र सञ्चालन चुनौतीहरू सिर्जना गरेको छ र केही कामदारहरूको रोजगारीमा प्रभाव पारेको छ ।”

– सी र ट्रम्पबीच हालै ‘कुनै फोन कल’ भएको छैन –

यसैबीच बेइजिङले सोमबार राष्ट्रपति सी जिनपिङ र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच हालै ‘कुनै फोन कल’ नभएको जोड दिएको छ । ट्रम्पले चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको बताउनुभएपछि बेइजिङको यस्तो टिप्पणी आएको हो ।

विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ट्रम्पले चिनियाँ वस्तुहरूमा लगाउनुभएको भन्सार शुल्कले सुरु भएको बढ्दो प्रतिशोधात्मक व्यापार लडाइँमा अल्झिएका छन् । यो धेरै उत्पादनहरूमा एक सय ४५ प्रतिशतसम्म पुगेको छ ।

अप्रिल २२ मा टाइम म्यागजिनसँग गरिएको र शुक्रबार प्रकाशित अन्तर्वार्तामा ट्रम्पले बेइजिङले कडा व्यापार विवादमा दुई देशबीच कुनै सम्पर्क भएको अस्वीकार गरे पनि चिनियाँ नेता सीले आफूलाई फोन गरेको दाबी गर्नुभयो ।

अमेरिकी राष्ट्रपतिले कल कहिले भएको थियो वा के कुरा भएको थियो भनेर खुलाउनुभएन ।

“जहाँसम्म मलाई थाहा छ, हालै दुई राष्ट्र प्रमुखबीच कुनै फोन कल भएको छैन”, सोमबार टिप्पणीको बारेमा सोधिएको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो, “चीन र संयुक्त राज्य अमेरिकाले भन्सार शुल्क मुद्दाहरूमा परामर्श वा वार्ता गरिरहेका छैनन् ।”