काठमाडौँ, बैशाख ९ गते । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ । पर्सि वैशाख ११ गते बिहिबारदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय लिन आज मङ्गलबार बोर्डको बैठक बस्न लागेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बैठक अहिले बिहान ८ बजेका लागि बोलाइएको छ । परीक्षाको व्यवस्थापन र सञ्चालन गर्ने शिक्षकहरू विगत २१ दिनदेखि सडक आन्दोलनमा भएकाले परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा केहीदिन पछि सार्ने भन्ने विषयमा आवश्यक निर्णय लिनका लागि बोर्डको बैठक बस्न लागेको हो ।
कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ । तर, विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुने÷नहुने अन्योलता थपिएको छ । जसले गर्दा परीक्षाको तयारीमा रहेका पाँचलाख भन्दा बढी विद्यार्थीहरु अन्योलमा रहेका छन् ।
आन्दोलनरत शिक्षक महासङ्घले कक्षा १२ को परीक्षामा सहभागी नहुने, एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्ने लगायतका निर्णय गर्दै शिक्षा ऐन जारी गर्न अडान कसेको छ । तर शिक्षकका मागप्रति प्रधानमन्त्री ओली अनुदार देखिएका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएपछि शिक्षक आन्दोलनको सार नै अनिश्चित बन्न पुगेको छ ।