रुकुमपश्चिम, वैशाख २ गते । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरा भइरहेको बताउनुभएको छ । आज जिल्ला अस्पताल विकास समिति रुकुम पश्चिमले आयोजना गरेको जिल्ला अस्पताल भवन अनुगमन तथा भेटघाट कार्यक्रममा उहाँले एकले अर्काको थाप्लोमा समस्या थुपारेर समस्याको समाधान नहुने बताउनुभयो ।

पूर्वमुख्यमन्त्री शर्माले नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा, प्रशासकीयस्वरूप, निर्वाचन प्रक्रिया र राजनीतिक अस्थिरताले पनि विकास निर्माणमा प्रभाव पारिरहेको बताउनुभयो । “स्थानीय, प्रदेश सङ्घ तथा यसको व्यवस्थित परिचालनको अभावमा पनि अप्ठेरो भइरहेको छ । प्रदेश, सङ्घ र स्थानीय तहका फरकफरक योजना छन्, योजना जसमार्फत कार्यान्वयन भए पनि जनता नै लाभान्वित हुने हुन् भनेर काम गर्नुपर्छ । समन्वय र सहकार्यको माध्यमबाट योजना कार्यान्वयन गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

देश विकासका लागि जनप्रतिनिधि, जनता र सबै सरोकार भएकाहरूको फराकिलो बुझाइ र त्यसको कार्यन्वनका लागि सहयोग गर्ने सोच हुन आवश्यक रहेको पूर्वमुख्यमन्त्री शर्माको भनाइ थियो ।