उदयपुर, वैशाख २ गते । यहाँको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय वेशभूषा लगाउनुपर्ने भएको छ । गत चैत १ गते सो पालिकाका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले सो निर्णय गरेको र यही वैशाख १ देखि लागू गरिएको पालिकाका उपाध्यक्ष पुष्पकुमार राईले जानकारी दिनुभयो ।

गत सोमबार प्रशासकीय अधिकृत ताराकिरण राईले अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय वेशभूषामा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गर्नुभएको छ । “पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति संस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवर्द्धन गर्न यस्तो निर्णय गरिएको हो,” अध्यक्ष राईले भन्नुभयो ।

गाउँपालिकाभित्रका जाति, वेशभूषा, भाषा, संस्कृतिको संरक्षण गर्ने कार्यपालिकाको दायित्व भएकाले यस्तो नीति लागू गरिएको उहाँको भनाइ छ । सो गाउँपालिकामा एक हजार ८७८ जनसङ्ख्या रहेको छ ।