लक्जेम्बर्ग, वैशाख १ गते । युरोपेली सङ्घले सोमबार प्यालेस्टिनी जनतालाई सहयोग गर्न एक अर्ब ६० करोड युरो बराबरको नयाँ आर्थिक सहायता घोषणा गरेको छ । यो सहयोग तीन वर्षको अवधिमा दिइनेछ । यो घोषणा प्यालेस्टिनी प्रधानमन्त्री मोहम्मद मुस्तफा र युरोपेली विदेश मन्त्रीहरूबीचको बैठकको अघिल्लो दिन गरिएको हो ।

“हामी प्यालेस्टिनी जनताको साथमा छौँ । यो सहयोगले सन् २०२७ सम्म पश्चिमी किनारा र गाजाको अवस्था सुधार गर्न मद्दत गर्नेछ,” युरोपेली सङ्घको विदेश नीति प्रमुख काया कालासले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।

गाजामा युद्ध फेरि सुरु भएपछि युरोपेली सङ्घले प्यालेस्टिनी प्रशासनलाई सहयोग बढाउने निर्णय गरेको हो ।

यस सहयोग अन्तर्गत, प्यालेस्टिनी प्रशासनलाई सिधै ६२ करोड युरो बराबरको अनुदान दिइनेछ । यो सहयोगले शासन प्रणाली सुधार, आर्थिक विकास, पूर्वाधार निर्माण जस्ता काममा सहयोग पु¥याउनेछ ।

अर्कोतर्फ, ४० करोड युरो बराबरको ऋण पनि युरोपेली लगानी बैङ्कमार्फत उपलब्ध गराइनेछ ।

यो नयाँ सहयोग अघिल्लो सन् २०२१ देखि २०२४ सम्मको एक अर्ब ३६ करोड युरो बराबरको सहयोग योजनाको निरन्तरता हो ।