लुम्बिनी, वैशाख २९ गते । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । आज यहाँ आयोजित नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) आठौँ महाधिवेशन उद्घाटन सत्रमा उहाँले मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्तिविकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष लम्सालले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानीका लागि सरकारलाई आग्रह गर्नुभयो । “मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान बिर्सनु हुँदैन । पत्रकारहरूको वृत्तिविकासका लागि आवश्यक काम र साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष लम्सालले पत्रकारको आवाज दबाउन खोज्ने कुनै पनि सत्ता र शासन व्यवस्था नटिक्ने भन्दै समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरू सह्य नहुने स्पष्ट पार्नुभयो ।