काठमाडौँ, चैत २८ गते । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेशमा नर्सरी र पुष्प व्यवसायको राम्रो सम्भावना रहेको बताउनुभएको छ । उहाँले बागमती प्रदेशमा कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि कृषि ऐन, नियमावली र मापदण्ड बनाएर आधुनिकीकरण गर्ने योजनाका साथ अघि बढिरहेको बताउनुभयो ।

काठमाडौँको भृकुटीमण्डपमा आजबाट सुरु भएको दोस्रो नेशनल हर्टिकल्चर प्रदर्शनी २०८१ लाई सम्बोधन गर्दे उहाँले भन्नुभयो, “आव २०८२/८३ को बजेटमा हामीले पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेका छौँ । बागमती प्रदेशको नुवाकोट, काठमाडाँै, ललितपुर र भक्तपुर क्षेत्रमा पुष्प र नर्सरी व्यवसाय र जडीबुटीको सम्भावनालाई ध्यानमा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउने, पकेट क्षेत्र घोषणा गर्ने र स्मार्ट पुष्प परियोजना सञ्चालन गर्न कार्यक्रम अघि बढाएका छौँ ।”

मन्त्री श्रेष्ठले अब आउने बजेटमा एक वडा एक व्यवसाय प्रवर्द्धन कार्यक्रम विशेष प्राथमिकताकासाथ अघि बढाउने योजना रहेको बताउनुभयो । उहाँले यसका लागि ८० वटा छनोट भइसकेको र आगामी आवमा १५० वडा छनोटको तयारी भइरहेको उहाँले बताउनुभयो ।

नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सुरु भएको पुष्प मेलामा पुष्प, फलफूल कृषिवन तथा जडीबुटी नर्सरीको व्यावसायिक उत्पादन प्रदर्शनीका लागि राखिएका छन् । मेला यही चैत ३१ गतेसम्म सञ्चालन हुनेछ ।

मेलाका संयोजक तथा सङ्घका वरिष्ठ उपाध्यक्ष रविनकुमार गौतमले ७०० भन्दा बढी प्रजातिका बोटबिरुवा प्रदर्शनी तथा बिक्री वितरणका लागि राखिएको जानकारी दिनुभयो । प्रदर्शनीमा अग्र्यानिक एवं रासायनिक विषादी, मलखाद, बीउबिजन, गमला, औजार उपकरण तथा प्रविधिको समेत स्टल छ । गौतमका अनुसार प्रदर्शनीमा कम्तीमा ५१ हजार अवलोकनकर्ताले आउने र रु एक करोड २५ लाखभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।