मुम्बई, चैत २५ गते । बेन्चमार्क निफ्टी सूचकाङ्क तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबार खुला कारोबारमा भारतीय सेयरहरूको मूल्यमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट हुने आयातमा २६ प्रतिशत कर लगाउनुभएपछि नयाँदिल्लीले भन्सार शुल्क वृद्धिबाट हुने ‘प्रभाव’ र ‘अवसर’ दुवैको परीक्षण गरिरहेको बताएको थियो ।
नेसनल स्टक एक्सचेन्जमा सबैभन्दा ठूला भारतीय कम्पनीहरू प्रस्तुत गर्ने निफ्टी ५० तीन दशमलव ५५ प्रतिशतले घटेको थियो ।
भारतको शक्तिशाली सूचना प्रविधि कम्पनीहरू समावेश भएको निफ्टी आइटी पाँच दशमलव ५३ प्रतिशतले घट्यो । निफ्टी आइटीको सबैभन्दा ठूलो बजार संयुक्त राज्य अमेरिका हो ।
द टाइम्स अफ इन्डियाले सेयर बजारको गिरावटलाई ‘रक्तपात’ भनेको छ ।
भन्सार शुल्क घोषणा भएपछि भारतको वाणिज्य विभागले ‘विभिन्न उपायका प्रभावहरू सावधानीपूर्वक परीक्षण गरिरहेको’ भन्दै एक विज्ञप्तिमा ‘यो नयाँ विकासका कारण उत्पन्न हुनसक्ने अवसरहरू पनि अध्ययन गरिरहेको’ जनाएको छ ।
भारतको औषधि क्षेत्र अमरिकाको पारस्परिक भन्सार शुल्क कदमबाट औषधिहरूलाई छुट दिएर सुरक्षित रह्यो । भारतको औषधि क्षेत्रले सन् २०२४ को आर्थिक वर्षमा संयुक्त राज्य अमेरिकामा आठ अर्ब डलरभन्दा बढी उत्पादनहरू निर्यात गरेको थियो ।
भन्सार शुल्कहरू घोषणा गर्दै ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘महान मित्र’ रहनुभएको तर उहाँले ‘हामीलाई सही व्यवहार नगर्नुभएको’ बताउनुभएको थियो ।