तेहरान, चैत २४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सिधा वार्ता गर्न चाहेको बताइरहेका समय इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार अमेरिकासँगको प्रत्यक्ष वार्तालाई ‘अर्थहीन’ भन्दै यस्तो सम्भावनालाई अस्वीकार गर्नुभएको छ ।

ट्रम्पले गत महिना तेहरानलाई वासिङ्टनसँग आफ्नो आणविक कार्यक्रमबारे वार्ता गर्न आह्वान गर्नुभएको थियो । उहाँले कूटनीति असफल भएमा इरानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको थियो ।

बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग ‘सिधा वार्ता’ गर्न चाहेको बताउनुभएको थियो । “मलाई लाग्छ तपाईं मध्यस्थहरूमार्फत जानुभन्दा यो छिटो हुन्छ,” उहाँले भन्नुभयो ।

आइतबार अराघचीले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घको बडापत्रको उल्लङ्घन गर्दै निरन्तर बल प्रयोग गर्ने धम्की दिने र आफ्ना विभिन्न अधिकारीहरूबाट विरोधाभासी अडान व्यक्त गर्ने पक्षसँग प्रत्यक्ष वार्ता ‘अर्थहीन’ हुनेछ।”

“हामी कूटनीतिप्रति प्रतिबद्ध छौँ र अप्रत्यक्ष वार्ताको बाटो प्रयोग गर्न तयार छौँ,” परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

“इरान सबै सम्भावित गतिविधि वा घटनाका लागि तयार रहन्छ र जसरी यो कूटनीति र वार्तामा गम्भीर छ, त्यसरी नै उसले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकताको रक्षामा पनि निर्णायक र गम्भीर हुनेछ,” अराघचीले भन्नुभयो ।

शनिबार इरानी राष्ट्रपति मसूद पेजेशकियानले आफ्नो देश अमेरिकासँग समान स्तरमा वार्ता गर्न इच्छुक रहेको बताउनुभएको थियो ।

उहाँले वार्ताका लागि आह्वान गर्ने वासिङ्टनको इमान्दारितामाथि पनि प्रश्न उठाउँदै भन्नुभयो, “यदि तपाईं वार्ता चाहनुहुन्छ भने धम्की दिनुको अर्थ के हो ?”