गण्डकी, चैत २२ गते । नेपालको वनजङ्गल बर्सेनि डढेलोको चपेटामा पर्दै आएको छ । चैत–वैशाखको सुक्खायाममा एकै दिनमा देशका सयौँ स्थानमा डढेलो लाग्ने गरेको वन तथा भू–संरक्षण विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष मात्र देशभरि पाँच हजार २१७ स्थानमा डढेलोका घटना भएका थिए । सानानिता डढेलोका घटनाको लेखाजोखा नै हुने गरेको छैन । डढेलो फैलने क्षेत्रफल र त्यसले वनजङ्गलमा पु¥याउने क्षति आकलनबाहिर रहेको विभागका पदाधिकारी बताउँछन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुदीप छत्कुलीका अनुसार गत साता मात्र देशका २७२ स्थानमा डढेलो लागेको थियो । पछिल्लो छ महिनामा डढेलोका कारण नौजनाले ज्यान गुमाएको उहाँले बताउनुभयो । गत वर्ष वन डढेलामा परी १७ जनाको मुत्यु भएको थियो । “पछिल्लो समय डढेलोका घटना बिस्तारै बढ्दै गएको देखिन्छ,” उपसचिव छत्कुलीले भन्नुभयो, “वनजङ्गल नासिने मात्र नभएर डढेलोका बहुअसर छन्, बर्सेनि ठूलो जनधनको क्षति डढेलोले निम्त्याइरहेको छ ।”

उपसचिव छत्कुलीले डढेलोले वन विशास हुने, माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिने, पानीका मुहान सुक्ने, भू–क्षय, बाढीजस्ता प्राकृतिक विपत् आदि समस्या निम्ताउने गरेको बताउनुभयो । “एउटै जङ्गलमा पटकपटक डढेलो लाग्दा बोटबिरुवाका प्रजाति नै विस्थापित हुने, माटोको उर्बरा शक्ति घट्ने हुनसक्छ,” उहाँले भन्नुभयो, “वायु प्रदूषण बढ्नुमा पनि डढेलाको भूमिका रहेको देखिन्छ, यसले जैविक विविधतामा पनि प्रत्यक्ष असर पु¥याइरहेको छ ।”

डढेलो लाग्दा जमिनको सतह खल्बलिने हुँदा बर्सातमा पानी पर्नासाथ त्यसले बाढीपहिरो निम्त्याउन सक्ने खतरा रहेको उपसचिव छत्कुलीले बताउनुभयो । वनजङ्गल विनाश हुँदा पर्यावरण चक्रमा पनि ठूलो असर पुगिरहेको उहाँको भनाइ छ । डढेलोका कारण वायुमण्डलमा फैलने विषाक्त धुवाँले मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्ने गरेको उहाँले बताउनुभयो । मध्य वैशाखलाई डढेलोको उच्च जोखिमको समय मानिने हुँदा डेढेलो फैलने क्रम अझ बढ्दै जाने उपसचिव छत्कुलीको भनाइ छ । 

बर्सेनि औसतमा चार हजार स्थानमा डढेलो लाग्ने गरेकामा पछिल्लो समय उक्त सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । सुक्खायाम लम्बिनु, हिउँदे वर्षा नहुनु, प्रिमनसुन ढिलो सुरु हुनु आदि कारणले डढेलोका घटनामा वृद्धि भइरहेको विज्ञहरु बताउँछन् । वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले फागुनदेखि जेठसम्म डढेलोको प्रकोप रहने बताउनुभयो । “डढेलोको समस्या विकराल बन्दैछ”, उहाँले भन्नुभयो, “लम्बिँदो खडेरीका कारण डढेलो नियन्त्रणबाहिर गइरहेको छ ।” गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो चाँडो फैलने गरेको उहाँले बताउनुभयो ।

वनजङ्गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिकको मानव बस्तीलाई असर पारिरहेको उहाँले बताउनुभयो । मानवीय कारणले नै डढेलो लाग्ने गरेको उहाँको भनाइ छ । “अन्ठाउन्न प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ,” उपसचिव थापाले भन्नुभयो, “पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोका घटना बढिरहेको देखिन्छ ।” 

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको उहाँको भनाइ छ । “डढेलोले जैविक विविधतामा ह्रास ल्याउनाका साथै वातावरणीय प्रदूषण निम्त्याउँछ”, उहाँले भन्नुभयो, “डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा पनि भूमिका खेलिरहेको हुन्छ ।” बर्सेनि बढीरहेको डढेलोको प्रकोप नियन्त्रणका लागि जनशक्ति र स्रोतसाधनको उचित प्रबन्ध गर्नुपर्ने उपसचिव थापाले बताउनुभयो । 

“परम्परागत तरिकाले मात्र अब डढेलो नियन्त्रणमा लिन कठिन छ, तालिमप्राप्त जनशक्ति र पर्याप्त उपकरण चाहिन्छ,” उहाँले भन्नुभयो, “प्राकृतिक भू–बनोटका कारण पनि नेपालमा डढेलो चुनौतीको विषय बनिरहेको छ ।” डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गरिए पनि यसमा कमी आउन नसकेको उहाँको भनाइ छ । जनचेतना फैलाउने र प्रचारप्रसारका काम गर्नुपर्ने उहाँले बताउनुभयो । सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिङ्गरलगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताउनुभयो । “वनमा अग्निरेखाको निर्माण, सरसफाइजस्ता कार्य नियमित गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डढेलो नियन्त्रणका लागि जनसहभागिता जुटाउनुपर्छ ।” 

डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थीले भिरालो भू–बनोट भएका ठाउँमा डढेलो चाँडो फैलने गरेको बताउनुभयो । जनसहभागिता जुटाउन नसके सुरक्षाकर्मी र कर्मचारीले मात्र डढेलो नियन्त्रणमा ल्याउन नसक्ने उहाँको भनाइ छ । “डढेलोका घटना नियन्त्रण र न्यूनीकरण सबैको सरोकारको विषय हो,” उहाँले भन्नुभयो, “बर्सेनि डढेलोका कारण वन क्षेत्रमा ठूलो नोक्सानी हुने गरेको छ, यसबाट बच्न जनचेतना अभिवृद्धिका साथै जोखिम न्यूनीकरणका लागि पूर्वतयारीको खाँचो छ ।”

डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याइरहेको उहाँले बताउनुभयो । वन व्यवस्थापनलाई चुस्त बनाउन सके डढेलोका घटना नियन्त्रण गर्न सकिने प्रमुख पन्थीको भनाइ छ । “समयमै घाँसदाउरा, स्याउला, सोत्तर वनबाट निकाल्न सके डढेलो लाग्न पाउँदैन, डढेलो नियन्त्रणका लागि तीनै तहका सरकार र जनस्तरबाट समेत प्रभावकारी उपाय अबलम्वन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “समुदायमा डढेलोसम्बन्धी सचेतना जगाउनुपर्छ ।”

डढेलो नियन्त्रणका लागि जिल्ला र स्थानीय तहमा रहेका डिभिजन वन र सबडिभिजन वन कार्यालयअन्तर्गत डढेलो नियन्त्रण सञ्जाल क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो । वन कार्यालयहरुले सुरक्षा निकाय, स्वयंसेवक र स्थानीय जनसमुदायसँग मिलेर डढेलो नियन्त्रणका काम गर्दै आएका छन् । डढेलोले निजी, सामुदायिक र राष्ट्रिय वन क्षेत्रका बोटबिरुवा तथा बुट्यान सखाप पार्ने गरेको उहाँको भनाइ छ । 

विद्यालय तहदेखि नै डढेलो नियन्त्रण र वन संरक्षण सीपबारे बालबालिकालाई पढाउनुपर्ने उहाँले बताउनुभयो । डढेलो लगाउने व्यक्तिलाई बिगोअनुसारको जरिवानासहित तीन वर्षसम्मको कैद हुनसक्ने कानुनी प्रबन्ध रहेको प्रमुख पन्थीले जानकारी दिनुभयो ।  डढेलो लगाउने व्यक्तिका बारेमा सूचना दिने व्यक्तिलाई उसले बुझाएको जरिवानाको १० प्रतिशत पुरस्कार पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो ।