महोत्तरी, चैत १८ गते । इस्लाम धर्मावलम्बी आज मुख्य पर्व ईद–उल–फित्र मनाइरहेका छन् । यहाँको सम्सी–६ का मोहम्मद इम्तियाजको घर आज इष्टमित्रले भरिभराउ छ । ‘ईद पर्वको मङ्गलमय शुभकामना।।१’ सबै एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना आदानप्रदान गर्दैछन् । इष्टमित्रको जमघटमा हिन्दू धर्मावलम्बीको उपस्थिति बाक्लै देखिन्छ ।
“यो आपसी एकता मजबुत बनाउने अवसर हो”, इम्तियाजलाई ईदको शुभकामना दिन पुग्नुभएका छिमेकी सरोज यादव भन्नुहुन्छ, “फरकफरक परम्परा र संस्कृतिबीच हामी साथ छौँ भन्ने सन्देशले सामाजिक एकतालाई बल पु(याउँछ ।” ईदमा हिन्दू मुस्लिम समान रुपले सरिक छन् । यसैगरी भङ्गाहा–५ सीतापुरस्थित सहबुल राइनका घरमा आज हिन्दू पाहुना टन्न छन् । सबै एकापसमा ईदको खुसी बाँड्दैछन् । फरक धर्म, संस्कृति र परम्परामा बाँधिएकाहरुबीचको अन्तर्घुलनले सामाजिक तथा धार्मिक सद्भाव वृद्धिमा सहयोग पुग्ने स्थानीय तथा नेपाल सरकारका सहसचिवबाट अवकास प्राप्त ७० वर्षीय रामबहादुर भुजेल बताउनुहुन्छ ।
भङ्गाहा–४ रामनगरकै इस्लाम धर्मावलम्बी शेष जब्बारका घरमा ईद पर्वको शुभकामना दिन अन्य धर्मावलम्बी पनि पुगेका छन् । “साथीहरुको जमघटले ईद धेरै रमाइलो भएको छ”, पाहुनाको स्वागतमा जुटेका शेष भन्नुहुन्छ, “सधैँ यस्तै रमाइलो गर्न पाइयोस् भन्ने अल्लाहसँग दुआ माग्छु ।”
एक महिने रमजान रोजा हिजो आइबार सकेका इस्लाम धर्मावलम्बीले आज परम्पराअनुसारको मुख्य पर्व ईद मनाउँदैछन् । हिजरी सम्वत्कै सव्वाल महिनाको पहिलो तारिखमा मनाइने यो पर्व इस्लाम परम्परामा करुणा र मानवीय सेवाको प्रतीक मानिन्छ । ईदमा इस्लाम धर्मावलम्बी आफ्नो कमाइको साढे दुई प्रतिशत ‘जकात’ मा छुट्याउँछन् । ‘जकात’ गरिब दुखीलाई सहयोग गर्न छुट्याइएको रकम हो । ईदमा घर आउने दीनदुखीको सेवा गर्न पाउनु खास अवसर भएको जब्बारका छिमेकी जाकिर अन्सारी बताउनुहुन्छ । पर्व आपसी रमाइलो गर्ने, भेटघाट गर्ने अवसर भएको हुँदा ईदमा आपूmहरु खुसी मनाउन इस्लाम धर्मावलम्बी साथी कहाँ निम्ता मान्न पुगेको हिन्दू युवा बताउँछन् । “हाम्रा बुबा पुस्तासम्म त मुस्लिमका घरमा खानपिन गर्न बारना थियो, तर अब समय फेरिएको छ, हामी सबै एकअर्काको सुखदुखमा एकाकार हुन खोज्दैछौँ”, रामगोपालपुर–२ महनपुरका मोहम्मद कादिर हुसैनका घरमा ईद मनाउन पुगेका सोही बस्तीका रामदेव यादव बताउनुहुन्छ ।
हिन्दू युवा ईदमा सहभागी भएझैं इस्लाम युवा पनि हिन्दू परम्पराका होरी र राखी पर्वमा सरिक हुन थालेका छन् । सँगै फागु खेल्नु, राखीमा हिन्दू साथीका दिदीबहिनीको हातबाट राखी बाँध्नु आफ्ना लागि रमाइलो अवसर हुने गरेको भङ्गाहा–४ रामका शेराजुल राइन बताउनुहुन्छ । यसबाहेक दसैँ, छठलगायतका पर्वमा साथीका घरमा खानपिन गर्ने गरिएको उहाँको भनाइ छ । इस्लाम र हिन्दू परम्पराभित्रको यो घुलमिलले आपसी प्रेम बढाउन र दुःखसुखमा एकाकार हुन सघाउने दुवै समुदायको अनुभव छ । हिन्दू, इस्लामबीचको यो घुलमिलजस्तै हिन्दू परम्पराभित्रकै पर्वते र मधेशीले मनाउने चाड साझाजस्तै नै बनेका छन् । हिन्दूका चाडहरु दसैँ, तिहार, छठ र तिलासक्रायसहितका पर्वमा मुस्लिम युवा उल्लेख्य सङ्ख्यामा सहभागी हुने गरेका छन् ।
जिल्लाको बर्दिबास, औरही, गौशाला र जलेश्वरसहितका पर्वते र मधेशी मूलका छ्यासमिस बसोबास रहेका बस्तीमा मधेश र पहाडी परम्पराका हिन्दू चाडपर्वका निम्तो मान्न मुस्लिम पनि पुग्ने गरेका मटिहानी– ७ का मनोहर साह बताउनुन्छ ।
पर्वते र मधेशी मूल भनिएपनि हिन्दू परम्परामा बाँधिएका सबै उस्तैउस्तै कर्मकाण्ड मान्ने हुन्छन् । ठाउँअनुसारका केही फरक चलन एकअर्काबीचको साँस्कृतिक घूलमिलले एकाकार हुँदै जाने क्रममा मधेशको प्राचीन मिथिलाक्षेत्रका मैथिलले पर्वते समुदायबाट पहाडी पर्व मनाउन थालेका हुन् । एकै ठाउँका बसाइले थुप्रै मैथिल परम्पराका चाडवाड पर्वते मूलका यहाँका बासिन्दा मनाइरहेका बर्दिबास–७ स्थित प्रेमनगरका शत्रुधन महतोको भनाइ छ ।
बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका एबम् सुदुर दक्षिणको जलेश्वर नगरपालिका हिन्दू परम्पराभित्रका पर्वते र मधेशी मूलको मात्र नभइ इस्लाम र हिन्दू धर्म मान्नेकै पनि छ्यासमिस बसोबास क्षेत्र हुन् । यहाँ बौद्ध र इसाई धर्म मान्ने पनि बाक्लै छन् । यस्ता बस्तीमा फरकफरक समुदायले मनाउँदै आएका चाड परम्परामा सबै सरिक हुने र अपनाउने क्रम बढ्दो छ । पछिल्लो पुस्ताबीचको यो हेलमेलले सामाजिक र धार्मिक सद्भाव वृद्धि हुने सेवानिवृत शिक्षक भङ्गाहा–७ का स्थानीय चन्द्रनारायण सिंह थारु बताउनुहुन्छ ।
बस्तीमा नयाँ पुस्तामा हेलमेल र अपनत्व बढेको देख्दा पुराना बाबु पुस्ताका अभिभावक दङ्ग देखिन्छन् । धार्मिक सहिष्णुताले चाडबाड थप रमाइलो बन्ने गरेको भङ्गाहा–३ का बासिन्दा वरिष्ठ समाजशास्त्री शिवराज दाहाल बताउनुहुन्छ । फरकफरक सांस्कृतिक परम्पराका नयाँ पुस्तामा देखिएको घुलमिल र हेलमेलले आग्रह र पूर्वाग्रह मेटिदै जाने औरही–१ का पाका व्यक्तित्व चेथरु यादवले बताउनुहुन्छ ।