बर्दघाट सुस्ता पश्चिम, चैत १८ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि सुरु भएको ऐतिहासिक रथ यात्रा शुभारम्भ गर्नुभएको छ । कालीगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार गर्ने र धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस यात्रामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहनेछ ।
कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार सुरू गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्नेछ । रथ यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकीय गन्तव्यलाई एकआपसमा जोड्न आवश्यक रहेको बताउँदै लुम्बिनी प्रदेशमा पर्यटन सर्किट निर्माण थालिएको जानकारी दिनुभयो ।
साथै, छिमेकी प्रदेश र अन्य क्षेत्रका धार्मिकस्थललाई परस्पर सम्बन्धित गर्दै पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ । गण्डकीका शालिग्राम र मुक्तिनाथको व्यापक प्रचारप्रसार गर्ने लक्ष्य राखिएको यस रथ यात्राले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
पर्यटकीय दृष्टिकोणले अत्यन्तै सुन्दर र पवित्र भूमि त्रिवेणी धामबाट सुरू भएको यो यात्रा श्रद्धालुका लागि महत्त्वपूर्ण रहनेछ । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरण कलवार, प्रदेशसभा सदस्य निमा गिरी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोख्रेललगायत जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको विशेष उपस्थिति रहेको थियो ।