गण्डकी चैत १८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरुको महानपर्व ईद (ईद उल फित्र) पर्वका अवसरमा शुभकामना दिँदै उहाँले यस पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्बद्र्धन र विकासमा टेवा पुग्नुका साथै गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सङ्कल्पलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

‘पवित्र रमजान महिनाको एक महिने व्रत समापनपछि मनाइने ईद उल फित्रको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ मुख्यमन्त्रीद्वारा आज जारी शुभकामना सन्देशमा उल्लेख छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सुन्दर रहेको जनाउँदै उहाँले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्व रहेको बताउनुभएको छ ।

उहाँले यस पर्वले सबै नेपालीलाई आपसी सद्भाव, दिगो शान्ति एवं भाइचारा अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।