काठमाडौँ, चैत १८ गते । सहकारी ठगी प्रकरणमा झन्डै आधा दर्जन मुद्दा खेप्दै आएका रवि लामिछाने अन्ततः रास्वपा पार्टीको सभापतिको जिम्मेवारीमा फर्कनुभएको छ । लामिछानेले सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सभापतिका रुपमा सहभागी हुने कार्यसूची तय भएको सो पार्टीले जनाएको छ ।
‘पहिलो बैठकमा कार्यवाहक सभापतिज्यूबाट धन्यवाद ज्ञापन र पार्टी सभापतिज्यूको सभापतित्वमा दोस्रो बैठक बस्ने गरी पहिलो बैठकको समापन हुनेछ’, पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘लगत्तै दोस्रो बैठक पार्टी सभापतिज्यूको सभापतित्वमा हुनेछ ।’ कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सभापति लामिछाने पार्टीका क्रियाकलापमा सहभागी हुन लागेको जानकारी दिँदै भन्नुभयो– ‘पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालले गर्नुहुन्छ । दोस्रो बैठकको अध्यक्षता सभापति रवि लामिछानेले गर्नुहुन्छ ।’
गत पुस ८ मा बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष अर्याललाई दिएको थियो । सहकारीको रकम अपचलनको मुद्दामा लामिछानेलाई गत २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो । चार सहकारीको रकम अपचलनको मुद्दामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । त्यसपछि गुमनाम जस्तै बनेका रवि अब पार्टीको सभापतिको रुपमा पुनः सक्रिय हुन लाग्नुभएको हो । यद्यपि मुद्दाको छिनोफानो नहुँदा र संसद्बाट निलम्वन फुकुवा नहँुदै उहाँ पार्टी सभापतिमा आउनुभएको भन्दै आलोचना भएको छ ।