दाङ, चैत १२ गते । नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरूष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा कर्णाली प्रदेशलाई पराजित गर्दै पुलिस क्लब विजयी भएको हो ।
पुलिस क्लबको यो आठौँ जितसँगै फाइनलमा स्थान सुरक्षित गरेको छ । पुलिसले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले सुरुआत राम्रो गरे पनि प्रतिस्पर्धी टोलीका ललितनारायण राजवंशीको कसिलो बलिङमा २४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेटियो ।
जारी प्रतियोगितामा राजवंशी सबैभन्दा धेरै विकेट लिन सफल ‘प्लेयर अफ द म्याच’ भए । उनी प्रधानमन्त्री कप क्रिकेटमा सय विकेट लिने पहिलो खेलाडी पनि बनेका छन् । राजवंशीले हालसम्म १०३ विकेट लिइसकेका छन् भने जारी प्रतियोगितामा आठ खेलमा ३६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन् ।
यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे । उनले ६० बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ३६ रन बनाएर क्याच आउट भए । यस्तै, दिलीप नाथले ५९ बलमा दुई चौकासहित ३४ रन बनाएर दिवान पुनको बलमा एलबीडब्लु भए । दाङमा पहिलोपटक आयोजना गरिएको प्रधानमन्त्री पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।
कर्णाली प्रदेशको टिम पाँचौँ स्थानमा रहेको छ । हालसम्म आठ खेल खेलिसकेको पुलिस क्लब आठ खेलमा सत्प्रतिशत जित निकाल्दै १६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा नौ खेल खेलिसकेको कर्णालीले चार खेलमा जीत र पाँच खेलमा हार बेहोर्दै आठ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा छ । योसँगै दाङमा १४ खेल सम्पन्न भएका छन् । अबका बाँकी खेल रुपन्देहीको सिद्धार्थ रङ्गशालामा हुनेछन् । प्रतियोगिताको फाइनल खेल चैत १६ गते हुने जनाइएको छ ।