टेगुसिगाल्पा, चैत ५ गते । होन्डुरसको क्यारेबियन टापु रोआटानबाट उड्ने क्रममा सोमबार एउटा सानो विमान समुद्रमा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दमकल विभागका मेजर विल्मर गुरेरोले पत्रकारहरूलाई दुर्घटनास्थलबाट १० जनालाई निकालिएको र तीमध्ये ६ जनालाई अस्पतालमा मृत घोषित गरिएको बताउनुभयो ।
त्यसपछि समुद्रमा विमान नजिकै एक चालक दलको सदस्यको शव तैरिरहेको फेला परेको थियो । उक्त विमान किनारबाट करिब एक किलोमिटर टाढा दुर्घटनामा परेको थियो ।
अधिकारीहरूले विमानमा सवार व्यक्तिहरूको सङ्ख्याका बारेमा १७ वा १८ रहेको परस्पर विरोधी रिपोर्टहरू दिएका छन् ।
गुरेरोले यात्रुहरूमध्ये एक ४० वर्षीय फ्रान्सेली नागरिकलाई मूल भूमिमा रहेको सान पेड्रो सुला सहरको अस्पतालमा स्थानान्तरण गरिने बताउनुभयो ।
लान्सा एयरलाइन्सको विमान बे आइल्यान्ड्सको एक रोआटानबाट साँझमा उडान भरेको थियो र मूल भूमिमा रहेको ला सेइबा बन्दरगाहतर्फ जाँदै थियो । रोआटान होन्डुरसको मुख्य पर्यटकीय गन्तव्यहरू मध्ये एक हो ।
“विमान झन्डै हामीमाथि खस्यो । म माछा मार्दै थिएँ”, एचसिएच टेलिभिजनलाई एक माझीले बताए ।
होन्डुरसका राष्ट्रपति सिओमारा क्यास्ट्रोले दुर्घटनाका पीडितहरूलाई सहयोग गर्न सशस्त्र बल, दमकल र अन्यहरू समावेश भएको आपत्कालीन समिति ‘तुरुन्तै सक्रिय’ गरेको बताउनुभयो ।
ब्रिटिस निर्मित जेटस्ट्रीम ४१ मा ‘स्पष्ट यान्त्रिक खराबी’ का कारण दुर्घटना भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।