काठमाडौँ, चैत ४ गते । सरकारले सगरमाथा संवादको तयारीलाई तीव्र बनाउँदै सो संवादमा विभिन्न देशका ३ सय ५० भन्दा बढी उच्चपदस्थ अधिकारीहरूलाई निमन्त्रणा दिइएको जनाएको छ । साथै सगरमाथा संवादमार्फत नेपालले जलवायु परिवर्तनका कारण हिमालले भोग्नुपरेको क्षति र त्यसको दुष्परिणाम बारेको एजेन्डाको नेतृत्व लिने गरी कार्यक्रमलाई तीव्र गतिमा अघि बढाइएको सरकारले स्पष्ट पारेको छ ।
जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नुपरेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ विषयमा सगरमाथा संवाद गर्दै छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना गरिएको सगरमाथा संवाद सचिवालयले आइतबार पत्रकार सम्मलेनको आयोजना गरी यससम्बन्धी विभिन्न जानकारी दिएको हो ।
अवसरमा बोल्दै सरकारका मुख्य सचिव एकनारायण अर्यालले जलवायु परिवर्तनका कारण हिमालले भोग्नुपरेका समस्यासम्बन्धी मुद्दाको नेतृत्व नेपालले लिनेगरी सगरमाथा संवादलाई तीव्र रूपमा अघि बढाइएको जानकारी दिनुभयो । उहाँले नेपालले विभिन्न अन्तर्राष्ट्रिय फोरममा जलवायु परिवर्तनबाट भएको हानि तथा नोक्सानीबारे सशक्त रूपमा आवाज उठाइरहेको पनि बताउनुभयो ।
यो समस्याको उजागर गर्ने र समाधानको पहल गर्ने गरी हामीले नेतृत्व गर्नै खोजेको हो । लस एन्ड ड्यामेज र आफ्नो अधिकार जुन हामीले वातावरण विनाशको क्षयीकरण भोगिरहेका छौँ, यसबाट बच्नका लागि अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा आवाज उठाउँदै आइरहेका छौँ र अब सगरमाथा संवादमार्फत नेतृत्व नै गर्ने गरी अघि बढ्ने छौँ ।’ – मुख्य सचिव अर्यालले भन्नुभयो ।
सरकारको अब बन्ने नीति तथा कार्यक्रममा पनि फोकसका साथ यसलाई अगाडि बढाउने मुख्य सचिव अर्यालले बताउनुभयो । ‘नीति तथा कार्यक्रममा पनि फोकसका साथ यसलाई अगाडि बढाउनेछौँ ।
हामी बढी प्रभावित भएको हुनाले यो एजेन्डा हामीले समातेर अघि बढ्नुपर्छ भन्ने हिसाबले हामीले लिएका छौँ । यस वर्ष हामीले क्लाइमेट चेन्जको इस्यु लियौँ । अर्को वर्ष अरू अरू थिममा हामी जानेछौँ,’ मुख्य सचिव अर्यालले भन्नुभयो । पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत राईले ‘सगरमाथा संवाद’ मा विश्वका विभिन्न देशका ३ सय ५० जनाभन्दा बढीलाई निमन्त्रणा पत्र पठाइने बताउनुभयो ।
सरकारले निम्तो पठाइएकामध्ये डेढ सयभन्दा बढी व्यक्ति सहभागी हुने अपेक्षा गरिएको राईले जानकारी दिनुभयो । निम्तो दिनका लागि विदेशस्थित नेपाली राजदूतावास र नेपालमा रहेका सम्बन्धित मुलुकका राजदूतावासलाई प्रयोग गरिएको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका विषयमा तत्काल गर्नुपर्ने कामबारे छलफल हुनेछ । पहिलो दिन नै टापुहरूलाई उच्च पहाडी क्षेत्रसँग जोड्नेबारे संवाद हुनेछ । खाद्य सुरक्षा तथा कृषि पुनरोत्थान, पहाडी क्षेत्रमा समुदायद्वारा प्रवद्र्धन गरिने क्रियाकलापबारे पनि छलफल गरिनेछ । सगरमाथा संवादको दोस्रो दिन जलवायुजन्य प्रकोपस् जोखिम न्यूनीकरण र पुनरोत्थानबारे छलफल हुनेछ ।
हिमालको जोखिमका लागि भएका अनुगमन र यसको उपलब्धि, हिमालमा भएका क्षतिलाई न्यूनीकरण गर्दा भएका प्रयासबारे छलफल हुने जानकारी गराइएको छ । सगरमाथा संवादको तेस्रो दिन संवादमा सहभागी हुन आएका पाहुनालाई सगरमाथा क्षेत्र अवलोकन गर्न लगिने कार्यक्रम तय गरिएको बताइएको छ । (आजको नेपाल समाचारपत्र दैनिकबाट)