फाइल तस्वीर
वीरगञ्ज, चैत २ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षमा सो कार्यालयबाट एक खर्ब ३९ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य छ ।
भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ भन्सार प्रशासन लामिछानेले बताउनुभयो ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आवको साउनमा १२ अर्ब १५ करोड रुपैयाँ, भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ, कात्तिकमा ११ अर्ब १० करोड रुपैयाँ र मङ्सिरमा भने १४ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
यसैगरी, पुसमा चालु आवको सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड रुपैयाँ, माघमा १४ अर्ब ४४ करोड रुपैयाँ र फागुनमा १४ अर्ब ६३ करोड ररुपैयाँ राजस्व असुली भएको थियो ।