महोत्तरी, फागुन २७ गते । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले पत्रकार र पत्रकारिता क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बर्दिबासमा आज सञ्चारिका समूह नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले आफ्ना सीमित साधन स्रोतभित्रबाट पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि प्रयत्न गरिरहेको उल्लेख गर्र्नुभयो ।
मुख्यमन्त्री सिंहले पत्रकारलाई सकारात्मक आँखाले हेर्नुपर्ने बताउनुभयो । “पत्रकार समाजका ऐना हुन्, यिनले पस्कने सत्यतथ्य सूचनाले राज्यका सबै निकायलाई आफ्ना कामबारे समीक्षा गर्ने र सच्चिएर अघि बढ्ने अवसर प्राप्त हुन्छ,” उहाँले भन्नुभयो, “त्यसैले पत्रकारितामा रहेकाहरुलाई सबैपक्षको सहयोग र सद्भाव आवश्यक छ ।” त्यसमा पनि निकै कम सङ्ख्यामा देखिने महिला पत्रकारलाई पेसामा टिकाइ राख्न राज्यका निकाय र सामाजिक सङ्घसंस्थाको सकारात्मक भूमिका हुनपर्ने उहाँको भनाइ थियो ।
स्वास्थ्य, शिक्षा र रोजगारका अन्य अवसरमा महिलाको पहुँच बढाउन प्रदेश सरकार प्रयत्नशील रहेको कार्यक्रममा मुख्यमन्त्री सिंहले बताउनुभयो । पत्रकारले राजनीतिक आग्रहबाट मुक्त भई निष्पक्ष रुपमा पेसागत धर्म निर्वाह गर्नपर्ने उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा सञ्चारिका समूह मधेस प्रदेशकी अध्यक्ष सुनिता बराल, जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण, नेपाल पत्रकार महासङ्घका केन्द्रीय लेखा संयोजक केसी लामिछाने, महासङ्घका प्रदेश अध्यक्ष श्याम वञ्जारालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।