इलाम, फागुन २६ गते । यहाँको रोङ गाउँपालिकामा करिब चार हजार पाँच सय किसान छन् । तीमध्ये पालिकाले पहिलो चरणमा १२१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । कम क्षेत्रफलमा बढी उत्पादन गरिरहेका किसानलाई गुरु किसानका रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन अभिमुखकरण दिइएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताउनुभयो ।
छ वटै वडामा सञ्चालित अभिमुखिकरणमा ‘गुरु किसान’ अर्थ, उनीहरुको काम, कर्तव्य, अधिकार र अबको भुमिकाका सम्बन्धबारे जानकारी दिइएको छ । “अहिले १२१ जना छानिनुभएको छ । यो सङ्ख्या क्रमशःवृद्धि हुन्छ”, गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नुभयो, “किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले विगत वर्षदेखि यो अवधारणा अघि सारेको हो ।” आगामी चैत्र ७ गते एक कार्यक्रमबीच औपचारिक रूपमा ‘गुरु किसान’ घोषणा गरिने गाउँपालिकाको तयारी छ ।
रोङ–१ बडारेका मनबहादुर राईले १२ रोपनी क्षेत्रफलमा यसवर्ष १५ मन अलैँची उत्पादन गर्नुभयो । “मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदो रहेछ” किसान राईले भन्नुभयो, “आउँदो वर्ष यही खेतीमा अझ मेहनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।”
किसानको उत्पादन, परिमाण, गुणस्तर र उत्पादनमा एकरूपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको वडा नं ६ का अध्यक्ष सत्यमकुमार राईले बताउनुभयो । पालिकाले गुरु किसानलाई लोगो, पहिचान खुल्ने पहिरन, उहाँहरुले अध्ययन गर्ने पुस्तक, झोला, अभिलेख डायरी उपलब्ध गराएको छ ।
सो कार्यक्रम अन्तर्गत गाउँपालिकाले किसानलाई तालिम, गोष्ठी, आधुनिक औजार खरिदमा समेत मद्दत गर्ने जनाएको छ । कृषि पेशाबाट किसान पलायन हुँदै गएको अवस्थामा यो कार्यक्रमले थप हौसला प्रदान गरेको गुरु किसान दिलकुमार अर्यालले बताउनुभयो । “यो कार्यक्रम उत्कृष्ट लाग्यो । किसानले उत्पादन गरेपनि बजारीकरण गर्न नसक्दा प्रतिफल पाएका थिएनौँ । कृषि पेशा नै छोड्नुपर्छ भन्ने निराशा बढेको थियो । यस्तो बेलामा पालिकाको कार्यक्रमले प्रोत्साहन मिलेको छ”, उहाँले भन्नुभयो ।
आधुनिक खेती पद्धतीको विकास गर्दै पालिकालाई समृद्ध बनाउन सुरु गरिएको गुरु किसान परियोजनाले यहाँका किसानमा खेतीप्रति जाँगर थपिएको कृृषक माया राई बताउनुहुन्छ ।