तेहरान, फागुन २६ गते । इरानको विदेश मन्त्रालयले इराकलाई इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवा नवीकरण नगर्ने संयुक्त राज्य अमेरिकाको निर्णय ‘गैरकानुनी’ भएको बताएको छ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले भन्नुभयो, “यस्ता अभिव्यक्तिहरू अराजकता, मानवताविरुद्ध अपराधको स्वीकारोक्ति हो किनकि एकपक्षीय अमेरिकी प्रतिबन्धको इरानी राष्ट्रविरुद्ध कुनै औचित्य वा कानुनी आधार छैन।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले आणविक हतियारको क्षमता खोजिरहेको आरोप लगाउँदै तेहरानमाथि ‘अधिकतम दबाब’ दिने नीतिको पछिल्लो निर्णय हो ।
तेहरानले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।
अमेरिकी विदेश मन्त्रालयले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा वित्तीय राहत प्रदान गर्न नदिनका लागि छुटको नवीकरण नगर्ने निर्णय गरेको जनाएको छ ।
इरानले इराकको लागि एक तिहाइ ग्यास र बिजुली आपूर्ति गर्दछ र यसले तेहरानलाई पर्याप्त आय प्रदान गर्दछ ।
सन् २०१८ मा ट्रम्पले इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट अमेरिका पछि हटेपछि वासिङ्टनले तेहरानमाथि पुनः प्रतिबन्ध लगाएको थियो ।
ट्रम्पले हालै इरानसँग नयाँ आणविक सम्झौता गर्न आह्वान गर्नुभएको थियो र शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई नयाँ वार्ताका लागि दबाब दिन पत्र लेख्नुभएको थियो । यद्यपि, इरानले आफूलाई कुनै पत्र प्राप्त नभएको बताएको छ ।
पत्रमा उहाँले इरानले सम्झौता गर्न नमानेमा सैन्य कारबाही हुनसक्ने चेतावनीसमेत दिनुभएको थियो ।
शनिबार खामेनीले ट्रम्पको धम्कीपछि ‘जिस्काउने’ रणनीतिको आलोचना गर्नुभएको थियो ।
उहाँले अमेरिकाको नाम उल्लेख नगरीकन तर अमेरिकालाई सङ्केत गर्दै भन्नुभयो, “केही सरकारहरूले धम्क्याउने शब्दभन्दा अरू केही थाहा छैन । तिनीहरूलाई विदेशी व्यक्ति र नेताहरूका लागि उपयुक्त शब्दहरू केही थाहा छैन।”
उहाँले भन्नुभयो, “उनीहरूको वार्ता समस्या समाधान गर्ने उद्देश्यले होइन, उनीहरूको उद्देश्य प्रभुत्व कायम गर्नु हो।”