बाजुरा, फागुन २६ गते । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावत रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिका आउँदै गरेको भे२त १५८८ नम्बरको ट्र्याक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार ट्र्याक्टरमा सवार रहेका चार जना मध्ये चालक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । अन्य तीन जना सकुशल रहेको , ट्र्याक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
भिरबाट लडेर एकको मृत्यु
जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा आइतबार मिनेटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर –२ फयालगाउँ बस्ने अन्दाजी ४२ वर्षीय पुसे भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिनुभएको छ ।
उहाँले दिएको जानकारी अनुसार आइतबार बेलुकी कर्णाली नदीमा माछा मार्न जाने क्रममानदी नजिकै रहेको हाँडेको भिरबाट लडेर मृत्यु भएको बताउनुभयो ।
स्थानीयले भण्डारी भिरबाट लडेर घाइते भएको प्रहरीलाई जानकारी आएपछि घटनास्थल पुग्दा मृत्यु भइसकेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभएको छ । शव निकाल्नका लागि इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ ।