दमास्कस, फागुन २५ गते । सिरियाली नेता अहमद अल–साराले आइतबार सुरक्षा बल र पूर्व सरकारका समर्थकहरूबीच दैनिकको झडपपछि शान्ति र राष्ट्रिय एकताका लागि आह्वान गर्नुभएको छ । झडपहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको छ । तीमध्ये अधिकांश अलावी नागरिकहरू छन् ।

“हामीले सकेसम्म राष्ट्रिय एकता (र) नागरिक शान्तिको रक्षा गर्नुपर्दछ र ईश्वरको इच्छामा हामी यस देशमा सँगै बस्न सक्षम हुनेछौँ”, साराले दमास्कसको छिमेकमा रहेको मस्जिदबाट दिएको भाषणमा भन्नुभयो । उक्त मस्जिदमा उहाँले आफ्नो बाल्यकाल बिताउनुभएको थियो ।

“जबसम्म मस्जिदहरूले आफ्ना बालबालिकालाई नैतिकता।।। र जनतामा निष्पक्षता र न्याय सिकाउँछन्, सिरियाका लागि कुनै डर छैन, ईश्वरको इच्छामा”, उहाँले भन्नुभयो ।

सिरियाको भूमध्यसागरीय तटमा भएको झडप डिसेम्बरमा साराको इस्लामवादी नेतृत्वको गठबन्धनले असदलाई अपदस्थ गरेपछि नयाँ सरकारको सुरक्षा बलका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

लाटाकिया र टार्टसका तटीय प्रान्तहरू देशको अलावी अल्पसङ्ख्यकको केन्द्रविन्दु हुन् । अलावी धार्मिक समूहसँग असद परिवार सम्बन्धित थियो ।

सिरियाली अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार बिहीबारदेखि घातक झडप शुरु भएयता लाटाकिया र टार्टसमा सात सय ४५ अलावी नागरिक मारिएका छन् ।

अब्जर्भेटरीको आँकडाअनुसार लडाइँमा नयाँ सरकारको सुरक्षा बलका एक सय २५ सदस्य र एक सय ४८ असद–समर्थक लडाकूहरू मारिएका छन् । यसले कुल मृत्यु सङ्ख्या एक हजार १८ पुर्‍याएको छ । 

तेर्‍ह वर्षभन्दा बढी गृहयुद्धपछि सुरक्षा पुनःस्थापना गर्नु नयाँ सरकारका लागि एक प्रमुख चुनौती रहेको छ । यद्यपि साराले अल्पसङ्ख्यकहरूलाई उनीहरूको अधिकार संरक्षित हुने आश्वासन दिने प्रयास गर्नुभएको छ ।