म्याग्दी, फागुन २५ गते । धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हुँदै लुलाङ–गुर्जा, ढोरपाटन जाने पदमार्गमा आवतजावतमा समस्या भएको थियो ।
धवलागिरि –३ का वडाध्यक्ष देवेन्द्र रोकाका अनुसार उपभोक्ता समितिमार्फत कल्भर्ट पुल निर्माण भएपछि तीनवटा वडाका बासिन्दाका साथै, ढोरपाटन गुरिल्ला र डोल्पा पदमार्ग भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ ।
छोटो घाट भएको ठाउँमा छिटो बनाउनुपर्ने भएकाले खोलाको दायाँबायाँ मेसिनरी पर्खाल उठाएर फलाम जोडेर कल्भर्ट प्रविधिको पुल निर्माण गरिएको हो । पुल बनेपछि बर्खायाममा बाङखोलाको उर्लँदो भेलमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ ।
यसैगरी बाङखोलाको बाढीले बगाएको मुनाको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पुनर्निर्माण गरिएको छ । गाउँपालिकाले विनियोजन गरेको रु आठ लाख बजेटबाट बाङखोला माथि फलामको पुल बनाएर पोलिथिन पाइप राखेर पानी तार्ने व्यवस्था मिलाएको वडाध्यक्ष रोकाले बताउनुभयो । पचास किलोवाट क्षमताको दरखोला पहिलो लघुजलविद्युत् परियोजनाबाट पाँच सय ८० घरपरिवार लाभान्वित भएका छन् ।
दरगाउँ सडक सञ्जालमा जोडियो
यसैगरी धवलागिरि गाउँपालिका–३ को दरगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिकाको सहयोगमा दरका बासिन्दाले उपभोक्ता समितिमार्फत गाउँ जोड्ने सडक निर्माण गरेका हुन् । गाउँपालिकाको रु २७ लाख अनुदानमा मुुना–मुदी सडकदेखि दर जोड्ने एक किलोमिटर पाँच सय मिटर सडक निर्माण भएको धवलागिरि गाउँपालिका–३ का प्राविधिक दीपेन्द्र थापाले बताउनुभयो ।
सडक निर्माण भएपछि दरगाउँका एक सय घरपरिवार लाभान्वित भएका छन् । आवतजावत, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुुजन्य वस्तु निकासीमा सहज भएको छ ।
दर जोड्ने सडक निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा रु पाँच लाख, २०८०/८१ मा रु १३ लाख र चालु आव २०८१/८२ मा रु १० लाख विनियोजन गरेको थियो ।