विराटनगर, फागुन २४ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिलाको सशक्तिकरण र सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न नसकिने बताउनुभएको छ ।
आज अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले महिलाहरूको सशक्तीकरण र उहाँहरूको राजनीतिक क्षेत्रमा पहुँच स्थापना हुनुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले समाजमा रहेका सबै विभेद र कुरितिलाई हटाउँदै समुन्नत समाज निर्माण गर्नका लागि पर्नुपर्ने उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा भन्नुभएको छ, “कोशी प्रदेश सरकार स्थापना कालदेखि नै महिलाको सशक्तीकरण, उहाँहरूको समृद्धि र विकासका लागि प्रतिबद्ध छ र राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता र पहुँच वृद्धि हुनुपर्छ ।”
नेपाली जनताको ७० वर्षको त्याग र बलिदानीबाट बनेको संविधानसभा मार्फतबाट बनेको संविधानले महिला अधिकार स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको मुख्यमन्त्री कार्कीले स्मरण गर्नुभएको छ । महिलाहरूको त्याग र उहाँहरूको समर्पणले आजको अवस्था आइपुगेको चर्चा गर्दै यो दिवसले सबैलाई अगाडि बढ्न प्रेरणा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।