पाल्पा, फागुन २१ गते । लुम्बिनी प्रदेश सरकारको लगानीमा तानसेन नगरपालिका–५ स्थित कैलाशनगरमा ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा आएको छ । प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि आजदेखि डबली सञ्चालनमा आएको हो ।
उक्त डबली ‘ओपन थिएटर’ को अवधारणमा बनेको छ । जिल्लाका विभिन्न जातजाति, समुदायका कला र संस्कृति प्रदर्शन गर्नुको साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले प्रदेश सरकारको रु छ करोड ८२ लाख ५६ हजार ९१ रूपैयाँ लगानीमा डबली निर्माण गरिएको हो ।
आज एक औपचारिक कार्यक्रमकाबीच नगर प्रमुख सन्तोषलाल श्रेष्ठले डबलीको शुभारम्भ गर्नुभयो । ढिलै भए पनि डबली सञ्चालनमा आएकोमा खुसी लागेको कैलाशनगरका स्थानीयवासी रमेश अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै टोलमा सांस्कृतिक डबली निर्माण हुँदा टोलको मात्र नभइ सिङ्गो तानसेन नै रमणीय र सुन्दर देखिएको छ ।” स्थानीय सुमन भट्टराईले पनि डबली सञ्चालनले पर्यटकको आगमनसमेत बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
डबलीमा स्टेज, हरियो दुबोसहितको दर्शक कक्ष, कलाकारको चेन्जिङ रूम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङसहितको सुविधा रहेको छ । डबलीको क्षमता पाँच सय जना रहेको छ ।
प्रदेश सरकारले दिएको जिम्मेवारीलाई स्थानीय सरकारले प्राथमिकताका साथ अगाडि बढाएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । डबलीको उचित प्रयोग गरी यहाँका कला संस्कृति र पर्यटनको विकास गरिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “तानसेन आफैँमा पर्यटकीयस्थल रहेकाले त्यसको विकास र विस्तारका लागि डबली महत्वपूर्ण हुने छ ।” शुभारम्भको अवसरमा सोरठी, झ्याउरे, नेवारी नाँच, थिमेबाजा, जिवाइमाइवा जस्ता नाच प्रदर्शन गरिनुको साथै, मगरी, नेवारी खाजाका परिकारसमेत राखिएको थियो ।