पाल्पा, फागुन २० गते । रामपुर नगरपालिकास्थित अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सेयर सदस्यलाई ‘पेन्सन’का रुपमा मासिक भत्ता दिने गरेको छ । संस्थामा आबद्ध ७० वर्षमाथिका ज्येष्ठ सदस्यलाई मासिक रु ५०० भत्ता उपलब्ध गराउँदै आएको हो ।
सदस्यका सेवालाई दृष्टिगत गर्दै विसं २०७२ देखि भत्ता वितरण सुरु गरेको हो । रु ४० लाखको पेन्सन कोष स्थापना गरेर उक्त कार्यक्रम सञ्चालन गरिरहेको व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । कोषका लागि नयाँ सेयर सदस्यबाट पेन्सन बचतमा रहने गरी रु ५०० सङ्कलन गर्ने गरिएको छ ।
उहाँका अनुसार गत वर्ष १२८ जनालाई मासिक भत्ता वितरण गरिएकामा चालु आर्थिक वर्षमा २१ जना थप भएका छन् । सहकारीले सदस्य प्रोत्साहन नीति २०७५ लागू गरेको छ । सो नीतिमा आधारित रहेर काम गरिरहेको छ । विसं २०७२ अघि आबद्ध सेयर सदस्यले ७० वर्ष पूरा भएपछि मासिक भत्ता प्राप्त गर्ने र त्यसपछिको नयाँ सदस्यका हकमा संस्थामा १० वर्ष कारोबार गरेको हुनुपर्नेछ । सहकारीमा हाल ११ हजार बढी सेयर सदस्य आबद्ध छन् ।