काठमाडौँ, फागुन १८ गते । छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली आज इरानको तेहरान प्रस्थान गरेको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रम बिदाइ गर्नुभयो ।

मानमति विष्टको कप्तानीमा रहेको टोलीमा जयन्ती बडू, रविना चौधरी, गङ्गा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका छन् ।

यही  फागुन २० देखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बङ्गलादेश, थाइल्यान्ड र मलेसिया गरी सात राष्ट्र सहभागी हुने छन् ।

सहभागीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ । अखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा हरिना थापा र निर्णायकमा नितु गुरुङ रहेका  छन् ।