तेह्रथुम, फागुन १७ गते । मुलुकमा सङ्घीयता लागू भएसँगै बनेका तीन तहका सरकारमध्ये स्थानीय सरकारलाई नागरिकको घरआँगनको सरकारका रूपमा लिने गरिन्छ । नागरिकको सहज पहुँचमा रहेकाले स्थानीय तहलाई ‘घरआँगनको सरकार’को उपमा दिइएको हो । यो उपमालाई यहाँको छथर गाउँपालिकाले सार्थकता दिइरहेको छ ।

यस पालिकाले स्थानीय नागरिकको सुखदुःखमा साथ दिनेदेखि जनजीविकामा सहयोग पुर्‍याउनेलगायत कार्यक्रम ल्याएर स्थानीयलाई नजिकको सरकारको अनुभूति दिने गरी काम गरिरहेको छ । बालबालिका जीवन सुरक्षा कार्यक्रम, मलामी खाजा कार्यक्रम, ६० वर्षमाथिका एकल पुरुषलाई नगदसहितको सम्मान कार्यक्रम यसका उदाहरण हुन् । पालिकाले आर्थिक वर्ष २०७७र७८ बाटै मलामी खाजा कार्यक्रम, २०७८र७९ देखि सुरु गरेको ज्येष्ठ नागरिक एकल पुरुष सम्मान र चालु आवदेखि बालबालिका जीवन सुरक्षा कार्यक्रम सुरु गरेको हो । 

पछिल्लो समय सुरु गरिएको बालबालिका जीवन सुरक्षा कार्यक्रमअन्तर्गत सेवा क्षेत्रभित्रका नवजात शिशु जन्मिएदेखि नाबालिग नभएसम्म निकाल्न नमिल्ने गरी रु पाँच हजार जम्मा गर्ने गरिएको छ । शिशुको जन्मदर्ता, संरक्षकको नागरिकता र सम्बन्धित वडाको सिफारिसका आधारमा पालिकाले आवश्यक कागजात उपलब्ध गराउँछ । सोही कागजातका आधारमा पालिकाको सेवा केन्द्र शुक्रबारे बजारस्थित नबिल बैङ्कमा शिशुको मुद्धति खाता खोलेर उक्त रकम जम्मा गरिदिँदै आएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख रोशन कार्कीले बताउनुभयो । यस कार्यक्रमबाट हालसम्ममा ११ जना बालबालिका लाभान्वित भएका छन् ।

वडा नं ६ सुदापका भिमादेवी खड्काले सन्तान प्राप्तिको खुसियालीमा स्थानीय सरकारसमेत सामेल भएकाप्रति खुसी व्यक्त गर्नुभयो । यसरी पालिकाले नै खाता खोलेर रकम बचत गरिदिँदा अभिभावकमा सन्तानका लागि बचत गर्ने बानीको विकास हुने उहाँले बताउनुभयो । गत मङ्सिरमा जन्मिएको आफ्नो पहिलो सन्तानको पालिकाले खाता खोलेर जम्मा गरिदिएको रु पाँच हजारमा आफूले पनि हरेक महिना रु एक हजार जम्मा गर्दैै आएको खड्काले सुनाउनुभयो ।

गाउँपालिकाले ज्येष्ठ नागरिक एकल पुरुष सम्मान कार्यक्रमअन्तर्गत हरेक आवको अन्तिममा  ६० वर्षमाथि उमेर पुगेका एकल पुरुषलाई रु १२ हजार नगदसहित सम्मान गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक पराजुलीले बताउनुभयो । गत आर्थिक वर्षमा यस्ता ५३ जना पुरुषलाई सम्मान गरिएको थियो । 

गाउँपालिका–५ नेर्तपाका ६४ वर्षीय खड्कबहादुर मादेनले पालिकाबाट आफूसँगै अन्य एकल पुरुषहरूले पनि सम्मान पाउँदा खुसी लागेको बताउनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७र७८ देखि सुरु गरेको मलामी खाजा कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यस कार्यक्रमअन्तर्गत पालिकाभित्रका कुनै पनि व्यक्तिको मृत्युपश्चात् जनप्रतिनिधि र कर्मचारीहरू मृतकको घरमै पुगेर समवेदनासहित मलामी खर्चस्वरुप रु पाँच हजार प्रदान गर्ने गरिएको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा ३३ मृतकका परिवारलाई समवेदनासहित मलामी खाजाबापतको रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले जानकारी दिनुभयो ।  ।

गाउँपालिका–५ डुम्ब्रेका जगतबहादुर लिम्बूले आफ्नो बुबाको मृत्युपश्चात् पालिका अध्यक्ष, वडा अध्यक्षसहितको टोलीले घरमै आएर समवेदनापत्रसहित मलामी खाजास्वरुप रु पाँच हजार प्रदान गरेको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । यसरी आफू पितृशोकमा परेको बेला स्थानीय सरकारका प्रतिनिधिबाट समवेदना प्रकट हुँदा आफ्नो पीडा हल्का भएको महसुस गरेको उहाँले सुनाउनुभयो । 

पालिकावासीलाई स्थानीय सरकार हामीसँगै छ भन्ने आभास दिलाउन र जनताको सुखदुःख दुवैमा सारथी बन्न यस्ता कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू ९सन्तोष०ले बताउनुभयो । भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, उद्यम, चेतना विकाससँगै यस्ता कार्यक्रमलाई पनि निरन्तरना दिँदै जाने उहाँको प्रतिबद्धता छ ।