पर्सा, फागुन १६ गते । वीरगञ्ज महानगरपालिकाको सहयोगमा भोलि शनिबारदेखि हुने वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको खेल आयोजक भेट्रान सिटीक्लबले जनाएको छ । आदर्शनगर रङ्गशाला हुने प्रतियोगितामा एक भारतीयसहित राष्ट्रियस्तरका आठ वटा फुटबल टोली मैदानमा उत्रने भेट्रान सिटी क्लबका उपाध्यक्ष सागर शमशेर जबराले राससलाई जानकारी दिनुभयो ।

प्रतियोगितामा ए डिभिजन लिग खेल्ने सङ्कटा, मच्छिन्द्र, नेपाल पुलिस, एपिआई चर्च ब्वाइज युनाइटेड, दिल्लीको गढवाल डाइमण्ड फुटबल क्लब, सलहेश फुटबल क्लब बागमती युथ क्लब र वीरगञ्ज युनाइटेड स्पर्धा गर्दै छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई पदक एवं प्रमाणपत्रका साथ नगद रु ११ लाख ११ हजार एक सय ११, उपविजेता टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ प्रदान गरिने छ । शनिबार हुने उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड र गढवाल डाइमण्ड भिड्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिव एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको विजेताको रुपमा नेपाल पुलिस क्लब र उपविजेताको रुपमा नेपाल आर्मी क्लब भएको थियो ।