सिरहा, फागुन १५ गते । सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ । नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवले उद्घाटन गर्नुभयो ।
“हुलाकी राजमार्ग आसपासका बासिन्दाले समयमा सर्पदंशको उपचार नपाउँदा बर्सेनि अकालमा ज्यान गुमाउनु परेको थियो । स्थानीयको सहज उपचार पहुँच विस्तार गर्ने योजना अनुसार सर्पदंश उपचार केन्द्र स्थापना गरेका हौँ”, नवराजपुरका स्वास्थ्य संयोजक संजिवकुमार यादवले भन्नुभयो ।
उहाँका अनुसार नेपाली सेनाको प्राविधिक सहयोगमा तालिम प्राप्त चिकित्सक जितेन्द्र यादवको टिमले उपचार गर्ने र केन्द्र अन्य व्यवस्थापन गाउँपालिकाले गर्नेछ । उक्त केन्द्र सञ्चालनका लागि रु १५ लाख स्रोत व्यवस्थापन गरिएको भन्दै आवश्यकताअनुसार थप्दै जाने गाउँपालिकाले जनाएको छ ।
केन्द्र स्थापना भएसँगै सर्पले डसेमा उपचारका लागि चोहर्वा वा लाहन जानुपर्ने बाध्यता अन्त्य हुने गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभयो । उहाँका अनुसार उपचारका लागि आवश्यक पर्ने ‘स्नेक एन्टी भेनम’ तथा अन्य सामग्री व्यवस्थापन गरी केन्द्र सञ्चालनमा आएकाले उपचारमा स्रोत अभाव नहुने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्र सञ्चालनमा आएसँगै नवराजपुर गाउँपालिकाका साथै जिल्लाका भगवानपुर, बरियारपट्टी र औरही गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । सर्पदंश उपचार केन्द्र स्थापनाका लागि स्थानीय रामऔतार यादवले जग्गा दान गर्नुभएको थियो ।