फाइल तस्वीर
काठमाडौँ, फागुन १४ गते ।
नेपालमा जारी फोर नेसन्स अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको आज फाइनल खेल हुँदैछ । फाइनल खेल आयोजक राष्ट्र नेपाल र पाहुना टोली म्यान्मारबीच फाइनल खेल सङ्घीय राजधानी काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बुधबार साँझमा हुन लागेको हो ।

आइतबार सम्पन्न यी दुवै टिमले सोही रङ्गशालामा निकै रोमाञ्चक प्रतिस्पर्धा गर्दै खेललाई २—२ गोलको बराबरीमा टुङ्ग्याएका थिए । तुलनात्मक रुपमा नेपालभन्दा बलियो मानिएको म्यान्मार टिम फिफा वरियतामा ५५ औं स्थानमा छ भने नेपाल १०५ औं स्थानमा छ ।

नेपालले आज गृह मैदान र घरेलु दर्शकको अपार हौसलाका साथ म्यान्मारसँग विगतको बदला लिंदै नयाँ इतिहास रच्ने रणनीतिमा उच्च मनोबलका साथ मैदानमा उत्रँदैछ । अन्तरराष्ट्रिय प्रतियोगिताको हालसम्मकै उपाधिको खडेरी तोड्न नेपाल आतुर देखिन्छ । त्यसो त आफुभन्दा कमजोर ठानेको टिम नेपाललाई उसकै गृह मैदानमा हराएर उपाधि उचाल्न म्यान्मारले सपना बुनिरहेको छ ।

दुवै टिम यस प्रतियोगिताको सबै (तीन) खेलमा अपराजित यात्रासँगै फाइनमा पुगेका हुन् । तथापि, गोलको हिसावले म्यान्मारले १० गोल गरेको छ भने नेपालले ४ गोल गरेको छ । लिग चरणमा गोलको वर्षा गरेको म्यान्मारलाई नेपालसँगको खेलमा जित निकाल्न नसक्दा आजको खेलमा पनि म्यान्मारलाई त्यति सहज नहुने फुटबलका पारखी विश्लेषकहरुको ठम्याइछ ।

नेपालले जारी प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा प्रस्तुत गरिसकेको छ । तर खेल हो र विपक्षी टिम बलियो भएकोले नेपालले टिम स्पीरिड र धैर्यताका साथ खेल्ने पर्ने हुन्छ ।

नेपालले यो एक वर्षको अवधिमा दुई वटा फाइनल खेल खेलिसकेको र उपविजेतामा चित्त बुझाउनु परेको अवस्थालाई ध्यानदिंदै आज हुने खेल नेपाली खेलाडीले दवावमा खेल्नुपर्ने छ । नेपालले यस अघि भएको वाफ च्याम्पियनसिप र साफ च्याम्पियनसिपमा उपाधि चुम्ने अवसरको नजिक पुगेर पनि अन्ततः उपविजेतामा सिमित हुन पुगेको थियो । विगतको दुःखद् क्षणलाई पूर्णविराम लगाउन र म्यान्मारसँगको विगतको बदला लिन नेपाललाई एउटा मौका आएको छ ।

त्यसोत, नेपालले म्यान्मारसँग सन् २०१९ मा पहिलो पटक प्रतिस्पर्धा गर्दा उसैको मैदानमा ३–१ गोलको अन्तरले पराजित भएको थियो । जुन खेल एसिया छनौटको दोस्रो चरणका प्रतियोगिता थियो । पहिलो चरणको खेलले नेपालले म्यान्मारलाई १—१ गोलको बराबरीमा रोक्न सफल भएको थियो ।

यसैगरी सन् २०१९ मै भारतमा भएको खेलमा पनि नेपाल समूह चरणमा म्यान्मारसँग ३–० गोलले पराजित हुन पुगेको र फाइनलमा ३—१ गोलको अन्तरले पराजित भएको थियो । यसरी हेर्दा नेपाल र म्यानमारबीच भएको खेलमध्ये तीन खेलमा नेपाल पराजित भएको र दुई खेलमा बराबरी गरेको इतिहास छ ।


नेपालले म्यान्मारलाई अहिलेसम्म हराउन नसकेता पनि पछिल्लो समय नेपाली महिला फुटबल टिमको खेलमा निखारपन आएको सङ्केत आइतबार यी दुई टिमबीचको खेलले पुष्टि गरेको छ । फिफा वरियतामा आफुभन्दा निकै माथिल्लो टिमसँग प्रतिस्पर्धा गरेको नेपाली टिममा तीन जना खेलाडीले अन्तरराष्ट्रिय राम्रा क्लबबाट खेलिसकेको अनुभव छ र उनीहरुको खेलको स्तर पनि निकै माथिल्लो रहेको ती खेलाडीहरुको खेल कौशलताले प्रमाणित गरिसकेको छ ।

आज नेपालले म्यान्मारलाई हराउन सके अन्तरराष्ट्रिय प्रतियोगिताको पहिलो उपाधि चुम्नेछ भने म्यान्मारको अपराजित यात्रामा पूर्णविराम लाग्नेछ । यसर्थ पनि नेपाल आजको खेलमा जित निकाल्दै एकै साथ दुईवटा इतिहास दर्ज गर्न आतुर छ ।