काठमाडौँ, फागुन १३ गते । नेपालको राजनीतिमा गान्धीका अनुयायी भनेर बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह श्रेष्ठ, महेन्द्रनारायण निधि र रामहरि जोशीलाई स्मरण गरिन्छ । राजनीतिमा लागेर स्वतन्त्रता र न्यायका लागि गान्धीको पदचाप पछ्याएका अग्रजलाई नेपाली समाजले गान्धीवादी नेता भनेर चिन्दछ । नेपालमा अरू पनि गान्धी विचारका अनुयायी र पक्षपाती रहे । तीमध्ये निधिको आदर्श, चरित्र र व्यवहारमा कति गान्धीवादी गुण रह्यो रु निधिको जन्मोत्सवका अवसर पारेर केलाउँदा अन्यथा नहोला ।

आदर्शनगरी जनकपुरवासी निधिलाई किन, गान्धीवादी भनेर स्मरण गर्छन् रु गान्धीको नेतृत्वमा भारतमा स्वतन्त्रताको प्राप्तिको आन्दोलन चलिरहेको थियो । जयप्रकाश नारायण (जेपी) र राममनोहर लोहिया अग्रमोर्चामा थिए । त्यसबखत विहार पुगेका निधिको लोहियासँग भेट हुँदा लोहियाले भनेछन्, “म मारवाडी भएर राजनीतिमा लागेको छु, तपार्इं कायस्थ भएर पनि व्यापारमा रु” लोहियाको उक्त वचनले निधिलाई राजनीतिमा होमिन उत्प्रेरित ग¥यो ।

गान्धीले गोपालकृष्ण गोखलेलाई राजनीतिक गुरु माने जस्तै निधिले लोहियालाई राजनीतिक गुरु मान्नुभएको थियो । निधिका पुत्र एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘पिताजीमा गान्धीको आदर्श र विचार मात्र नभएर आजीवन चरित्र पनि कायम रहेको बताउनुहुन्छ । गान्धीले जस्तै सत्य र अहिंसाको जगमा राष्ट्र पुनर्निर्माण हुनुपर्छ र त्यो पुनर्निर्माण गाउँबाट सुरु हुनुपर्छ भन्ने महेन्द्रनारायणको बुझाइ थियो ।  उहाँले २०५४ वैशाख ३० मा स्थानीय निकायको निर्वाचन दलविहीन प्रतिस्पर्धा हुनुपर्छ भन्दै विज्ञप्ति नै निकाल्नुभएको थियो । यसअघि पनि उहाँले पटक–पटक कांग्रेस केन्द्रीय समितिमा गाउँ–गाउँमा दलीय राजनीतिक अभ्यास गर्नु हुँदैन । यसले योग्य मान्छे पाखा लाग्छन् भन्ने कुरा उठाउने गर्नुहुन्थ्यो । गाउँ–गाउँबाट योग्य मान्छे पाखा लाग्दै जाने र दलको झन्डा बोकेका तर अयोग्य मान्छेले स्थानीय सरकारमा प्रतिनिधित्व गर्दै गए भने भोलिको नेपाल कस्तो होला रु भन्ने चिन्ता उहाँमा थियो । 

स्थानीय निर्वाचनको सन्दर्भमा प्रजातन्त्रवादीका हैसियतले गाउँमा दलीय राजनीतिक अभ्यास हुनुहुँदैन । यसलाई समयमै निरुत्साहित गर्न सकेनौँ भने भोलि गाउँ, नगर, टोलमा विकासका लागि सोच्ने समाजवादी र विकासपे्रमी योग्य मान्छे पाखा लाग्नेछन् र पार्टीको झन्डा बोकेर भ्रष्टाचार गर्ने गिरोहले समाजलाई गलत बाटोमा लैजानेछ भन्ने उहाँको बुझाइ थियो । निधिको स्थानीय निकायको निर्वाचन बारेको बुझाइलाई अहिलेसम्म पनि उपहास गरिँदै आएको छ । स्वतन्त्र रुपमा विजयी भएका नगर प्रमुखहरु बालेन साह, हर्क साम्पाङ, गोपी हमाललगायतका व्यक्तिहरुको कल्पना निधिले उहिल्यै गर्नुभएको थियो । निधिले ‘भोलि गाउँ, नगर, टोलमा विकासका लागि सोच्ने समाजवादी र विकासपे्रमी योग्य मान्छे पाखा लाग्नेछन् र पार्टीको झन्डा बोकेर भ्रष्टाचार गर्ने गिरोहले समाजलाई गलत बाटोमा लैजानेछन्’ भनेको कुरा अहिले छर्लङ्ग भएको छ । पार्टीको झन्डा बोकेर भ्रष्टाचार गर्ने गिरोहले नेपालका पार्टीहरु नै कब्जा गरेको अवस्था छ । वित्तीय अनुशासनमा राज्यका संयन्त्र कमजोर भएका उदाहरणहरु एकपछि अर्को आइरहेका छन् । राजनीतिक नेतृत्वले निधिको जीवनबाट धेरै कुरा बुझ्न र सिक्न आवश्यक छ ।  

गान्धीको आदर्शलाई निधिले जीवनमा उतारेका दृष्टान्त कैयौँ छन् । गान्धीले ‘ग्राम स्वराज’ को कल्पना गरेर ‘ग्राम पञ्चायत’ अवधारणामा स्थानीय निर्वाचन दलविहीन हुनुपर्छ भन्नुभएको थियो । २००४ सालमा उहाँ सत्याग्रहका पक्षपाती रहनुभयो भने २०१४ सालमा सत्याग्रही हुँदा गिरफ्तार हुनुभयो ।  २०१७ साल पुस १ गते नेपाली राजनीतिमा अवाञ्छित दिनका रुपमा दर्ज छ । यस घटनापछि नेपाली कांग्रेसको पटना सम्मेलनले सशस्त्र आन्दोलन गर्ने निर्णय ग¥यो । हिंसाको राजनीतिमा असहमति प्रकट गर्दै निधि नेपाल फर्किनुभयो । उहाँमा निहित अहिंसात्मक आदर्श विचार त्यसबखत पनि प्रकट हुनपुग्यो । निधि भारत प्रवासमै बसेर जोगिन सक्नुहुन्थ्योे वा स्वदेश फर्किएपश्चात् प्रलोभित भएर पद र प्रतिष्ठाको जीवनमा रमाउन सक्नुहुन्थ्यो तर उहाँभित्रको निष्ठा र आदर्शले नै गिरफ्तारी दिनुभयो । 

सत्याग्रहीको आदर्श गुण कायम राख्नुपर्छ भन्ने उहाँको मान्यता थियो । सत्याग्रहीमा स्वदेशी, अपरिग्रह, निर्भय, आत्मसंयमी र आत्मानुशासनको गुण हुनैपर्छ । त्यो गुण चरित्र र व्यवहारमा प्रकट हुनुपर्छ । सच्चा सत्याग्रही त्यागी, आत्मसंयमी र अपरिग्रही हुनुपर्छ । चारित्रिक एवं नैतिक बल नभई कुनै व्यक्ति सत्यको मार्गमा हिँड्न सक्दैन । सत्यका अनुयायीमा मन, वचन र कर्ममा स्वनियन्त्रण गर्नसक्ने क्षमता रहन्छ । अहिंसा र सत्याग्रहबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ । उल्लेखित गुणका कारण निधि अहिंसात्मक आन्दोलनका पर्यायी बन्नुभयो । ‘साधन शुद्ध नभएसम्म साध्यमा पुग्न सकिँदैन’ भन्ने गान्धीको भनाइलाई उहाँले जीवनभर आत्मसात् गर्नुभयो ।

त्यस बखत नेपालमा पनि अहिंसात्मक आन्दोलन चलाउनुपर्छ भन्ने उहाँको मान्यता थियो । हिंसालाई पृष्ठपोषण गर्दै पद र प्रतिष्ठाको राजनीति उहाँले कहिल्यै गर्नुभएन । त्यसैले वर्तमान पुस्ताले निधिलाई स्मरण गरिरहन्छ । समाजवादी चिन्तक स्व प्रदीप गिरीका अनुसार नेपाली कांग्रेसको इतिहासमा निधिको त्यो असहमति नै सत्याग्रहको बिजारोपण थियो । कालान्तरमा त्यो विमति ‘पुष्पित पल्वित’ भएर झाँगियो । त्यही असहमतिको जगमा २०४२ सालको सत्याग्रह हुनपुग्यो । २०४२ सालको जगमा २०४६ सालको शान्तिपूर्ण आन्दोलन हुनपुग्यो । उहाँको आदर्श, चिन्तन र चरित्रमा एकरुपता पाइन्छ । 

त्यसबेलाका नेता बिपी कोइराला र सुर्वण शमशेरसँग पृथक मत राखेर कांग्रेस भएर बाँच्नु कल्पना बाहिरको विषय थियो । त्यसका निम्ति उच्चकोटीको आत्मबल र नैतिक साहसको खाँचो थियो । ‘निधिमा उल्लिखित दुवै गुण रहेको गिरीले लेख्नुभएको छ । बिपी, गणेशमान, किसुनजी, महेन्द्रनारायण, सिके प्रसाईं, योगेन्द्रमान शेरचनलगायतका कैयौँ नेताहरुको आदर्श र निष्ठाले कांग्रेसको राजनीति तप्त थियो । कांग्रेसका लागि त्यो युग स्वर्णयुग थियो । नेताहरुमा त्याग र समर्पणको उच्च संस्कार थियो । २०१५ सालको पहिलो संसद्मा किसुनजी सभामुख र निधि उपसभामुख बन्नुभयो । राजा महेन्द्रद्वारा प्रजातन्त्रको अपहरणसँगै दुवै जना जेल पर्नुभयो । संयोग दुवै जनालाई नख्खु जेलमा राखियो । दवै नेता अहिंसाका पक्षपाती हुनुहुन्थ्यो । ‘जेलमा नै संसद् सञ्चालन गरौँ’ भन्नेसम्मको छलफल चलाएको स्मरण समकक्षी गान्धीवादी नेता स्व रामहरि जोशीले एक प्रसङ्गमा भन्नुभएको थियो ।

बिपी, गणेशमान, शैलेजा आचार्य, केबी गुरुङलगायतका नेता राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै २०३३ पुस १६ गते भारतबाट स्वदेश फर्किनुभयो । बिपीमाथि राज्य विप्लवका सातवटा मुद्दा थिए । ती मुद्दामा फाँसीको सजायसम्म हुनसक्थ्यो । बिपीमा निहित सुषुप्त गान्धीवादी गुण त्यस बखत एक्कासि प्रकट भएकामा शुभचिन्तकहरु भयले त्रस्त थिए । बिपी बाँचुन्जेल निरङ्कुशताविरुद्ध सङ्घर्षरत रहनुभयो । स्वदेशमा रहेर निरङ्कुशताविरुद्ध सङ्घर्ष गर्नेहरुमा निधि अग्रपङ्क्तिमा हुनुहुन्थ्यो । निःसन्देह गान्धीका अहिंसात्मक दर्शनलाई उहाँले जीवनभर अपनाउनुभयो । निधि आजीवन ‘निष्काम कर्मवादी’ रहनुभयो । 

जीवनका कठिन घडीमा पनि आस्थामा विचलित नभई निधि ‘अनाशक्त योग’का साधक रहनुभयो । कांग्रेस स्थापनाकालदेखि नै निधि अहिंसात्मक राजनीतिका पक्षपाती रहनुभयो । जसरी गान्धीले भारतमा हिंसालाई सहारा बनाउनुभएन, त्यसैगरी, निधिले हिंसाको राजनीतिसँग कहिल्यै सम्झौता गर्नुभएन । दुग्र्भाय सत्यलाई आचरणमा व्यक्त गर्ने राष्ट्रियताका पक्षपाती निधिले कतिपय अवस्थामा पार्टीभित्रै शङ्काको सिकार बन्नुप¥यो । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरिरहँदा त्यसलाई रोक्न गणेशमानले निधिलाई प्रधानमन्त्री बनाउन चाहनुभएको थियो । आफ्नो असहमतिका बाबजुद भएको उक्त निर्वाचनमा निधि उम्मेदवार बन्न चाहनुभएन । बरु राजनीतिबाट विश्राम लिनुभयो । सरलता, सादगी र स्वच्छ छविप्रति उहाँ सदैव सचेत रहनुहुन्थ्यो । पद, पैसा र शक्तिबाट उहाँ टाढै रहनुभयो ।

पञ्चायत सरकारले २०२८ सालमा नयाँ शिक्षा लागू गर्दा उहाँले मातृभाषामा शिक्षाको सुनिश्चित गर्न माग गर्नुभएको थियो । साथै, उहाँले उक्त शिक्षा नीतिकोे खुलेर विरोध गर्नुभयो । गान्धीले सन् १९३७ मा बर्धा शिक्षा सम्मलेनमा मातृभाषासहितको शिक्षाको पक्षमा आवाज उठाउनुभएको थियो । साथै, आधारभूत तहको शिक्षा राज्यले निःशुल्क गर्नुपर्ने प्रस्ताव पारित गराउनुभएको थियो । भारतको इतिहासमा ‘बर्धा एजुकेसन कन्फ्रेन्स’को छुट्टै महत्व छ । त्यसैले भन्न सकिन्छ, गान्धी विचार र  क्रियाकलापबारे पनि निधिमा गहन अध्ययन र प्रभाव थियो ।

निधि २००७ सालको क्रान्तिको सफलतासँगै महोत्तरी जनसरकारको प्रधानमन्त्री बन्नुभयो । पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा प्रस्तुत गर्नुभयो । २०१५ सालको निर्वाचनमा उम्मेदवार बनेर विजयी हुनुभयो । पहिलोपटक २००४ सालमा जेल परेका निधि जीवनमा १२ पटक जेल परे । संयोग गान्धी पनि जीवनमा १२ पटक नै जेल परेका थिए । पारिवारिक स्रोतका अनुसार निधिका पिता राजेश्वर निधि पनि गान्धीवादी रहेको जानकारी हुन्छ । परिवारका अनुसार राजनीतिमा क्रियाशील रहे पनि निधि कृषि कर्ममा सहभागी हुन्थे । गाउँमा सिँचाइका लागि पैनी, कुलो, नहर बनाउन जुट्थे । गान्धीको आत्मनिर्भरताको सिद्धान्तले उहाँ निर्देशत रहनुभयो । गान्धीले भन्नुभएको थियो, ‘अन्न, वस्त्र, आरोग्य र शिक्षा’ मा आत्मनिर्भर हुनसके दुनियाँमा कसैको ‘गुलाम’ हुनु पर्दैन । 

निधि ‘सादा जीवन, उच्च विचार’सहित त्यागयुक्त जीवन बाँच्नुभयो । त्यसैले कर्म र व्यवहारले निधि सच्चा गान्धीवादी बन्नुभयो । निष्ठावान् निधि, निर्विकल्प प्रजातान्त्रिक आस्थामा अडिग रहनुभयो । पद र प्रतिष्ठाका लागि उहाँले जीवनभर कसैसँग सम्झौता गर्नुभएन । सच्चा सत्मार्गीको आत्मा मणि जस्तै शुद्ध र ‘स्फटिक’ रहन्छ । गान्धीमा जस्तै निधिमा पनि ‘स्फटिक’ जीवनशैली झल्किन्छ । अन्धभक्त कार्यकर्ताको आत्मप्रशंसामा उहाँ कहिल्यै रमाउनु भएन । निधिको १०४औँ जन्मोत्सव मनाइरहँदा नेपाली कांग्रेसका नेताले दूरदराजमा रहेका सच्चा शुभचिन्तक र आस्थाका धरोहर मतदाताको अनुहार निधिमा रहेको विवेकको चस्माले हेर्न सक्नुपर्छ । अनिमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुनेछ । (लेखक अहिंसा र गान्धी विषयका अध्येता हुनुहुन्छं)