कर्णाली, फागुन १३ गते । बुलबुले गुरुयोजना कार्यान्वयनका लागि ताल निर्माणको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज उक्त योजनाको शिलान्यास गर्नुभएको हो ।
योजना शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीयस्थल बुलबुले ताललगायतका विकासका संरचना निर्माणमा सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिलान्यास तामझामले गर्ने तर पछि सुख्खाराम हुने गरी काम नगर्नुस् । काम गर्दा पुरस्कार लिने गरी काम गर्नुस् । अतिरिक्त शुल्क तिर्नुपर्दैन । भुक्तानीमा कहीँ कतै समस्या हुँदैन ।”
उहाँले बुलबुले तालःसहित काँक्रेबिहारको काम क्रमशः अगाडि बढेको र सामाजिक विकास मन्त्रालयसँग जोडिएको चौघान चौरको निर्माण पनि निकट भविष्यमै सुरु हुने जानकारी दिनुभयो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले चालु आर्थिक वर्षको असार १० गते सम्पन्न हुने गरी यही फागुन ४ गते प्रवीन निर्माण सेवा सुर्खेतसँग निर्माण सम्झौता भएको बताउनुभयो । चार हजार दुई सय वर्ग मिटर क्षेत्रफलको ताल विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि रु एक करोड १२ लाख ३६ हजार आठ सय ६३ लागतमा ठेक्का सम्झौता भएको हो ।