काठमाडौँ, फागुन १२ गते । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ । वर्षा तथा हिमपातको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।