जेरूसेलम, फागुन ११ गते । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने बताउनुभएको छ ।

सम्झौता अन्तर्गत सशस्त्र इस्लामिक लडाकू समूह ९हमास० ले शनिबार बन्धकको रिहाइ प्रक्रिया अन्तर्गत सातौ समूहका छ बन्धकको रिहाइ गरिसकेको छ । बदलामा इजरायलले ६०० प्यालेष्टिनी बन्दीलाई शनिबार नै रिहा गर्ने सहमति भएपनि बन्धक रिहाइका समय हमासले गरेका ‘समारोह’ले हमासले बन्धक बनाएका इजरायली नागरिकको अपमान भएको भन्दै इजरायलले बन्दी रिहा गर्न ढिलाई गरेको छ ।

युद्धविरामको पहिलो चरण जनवरी १९ मा सुरु भएयता हमासले गाजाका विभिन्न स्थानमा भेला भएका समारोहबीच २५ जना जीवित इजरायली बन्धकलाई रिहा गरिसकेको छ ।

सशस्त्र नकाबपोश लडाकुहरूले बन्दीहरूलाई नाराले सजिएका मञ्चहरूमा राख्ने, सम्बोधन गर्न लगाउने र हात हल्लाउन लगाएर विदाइ गर्नेजस्ता कार्यप्रति इजरायलले आपत्ति जनाएको हो ।

रेडक्रसले यसअघि ‘सबै पक्ष’लाई ‘सम्मानजनक र निजी’ तरिकाले बन्धक र बन्दीको आदानप्रदानका लागि आग्रह गरेको थियो ।

सातौं समूह अन्तर्गत हमासले शनिबार छ जना इजरायली बन्दीलाई रिहा गरेको थियो तर इजरायलले बदलामा प्यालेस्टिनी कैदीलाई रिहा गर्न रोकेको थियो ।

–आरोप–प्रत्यारोप–

मार्चको सुरुमा समाप्त हुने भनिएको पहिलो चरणको युद्धविराम सम्झौता अन्तर्गत कैदी आदानप्रदानमा ढिलाइ हुनुलाई प्यालेस्टिनी लडाकू समूह हमासले युद्धविराम सम्झौताको ‘घोर उल्लङ्घन’ भनेको छ ।

नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हमासले सहमतिका बुँदालाई पटक–पटक उल्लङ्घन गरेको र हाम्रा बन्धकहरूको अपमान गर्ने लज्जाजनक समारोह र प्रोपोगान्डाका लागि बन्धकहरूको निन्दनीय प्रयोगलाई ध्यानमा राख्दै ‘आतङ्कवादी’हरूको रिहाइमा ढिलाइ गर्ने निर्णय गरिएको छ ।”

“अपमानजनक समारोह बिना अर्को बन्धकहरूको रिहाई सुनिश्चित नभएसम्म यो ढिलाइ जारी रहनेछ,” विज्ञप्तिमा भनिएको छ।

यसैबीच, वासिङ्टनबाट अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हमासले बाँकी रहेका सबै बन्धकलाई रिहा नगरे समूह ‘ध्वस्त’ हुने चेतावनी दिनुभएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले हमासलाई ध्वस्त पार्ने प्रतिबद्धता जनाएको थियो । प्यालेष्टिनी लडाकू समूहहरूको दक्षिणी इजरायलमा भएको उक्त आक्रमणमा एक हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने इजरायलको जवाफी कारबाहीमा ४८ हजारभन्दा बढीको मृत्यु भएको दुवै पक्षका आँकडाहरूले देखाएका छन्।