फाइल तस्वीर
काठमाडौँ, फागुन ११ गते ।
नेपालमा जारी फोर नेसन्स अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा आज नेपालले तेस्रो टिम म्यान्मारसँग प्रतिस्पर्धा गर्दै छ । यस अघिका दुई खेलमा जित हात पारेको नेपालले आज तेस्रो जितको खोजीमा म्यान्मारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।


चार राष्ट्र सम्मिलित ‘फोर नेसन्स’ को अघिल्ला दुई खेलमा नेपाल र म्यान्मारले किर्गिस्तान र लेवनानलाई पराजित गर्दै जित निकालेका थिए । नेपाल र म्यान्मार दुवै टिम आज साँझ काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल आफ्नो पक्षमा पार्न मैदानमा भिड्दै छन् । नेपालभन्दा बलियो मानिएको म्यान्मारलाई हराउन नेपाली टिम घरेलु दर्शकको हौसलाका साथमा मैदानमा म्यान्मारलाई हराउने रणनीतिमा छ ।
आज यी दुई टिमबीच हुने खेललाई फाइनलको पूर्वाभ्यासको रुपमा पनि लिन सकिनेछ । यि दुवै टिमले फाइनलको यात्रा पक्का गरिसकेका छन् । आजको खेलमा जो जस्ले जिते पनि फाइनलमा पुनः यी नै दुई टिमको भिडन्त हुने । नेपाल आफ्नो गृहमैदान र घरेलु दर्शकको साथ पाएर जारी प्रतियोगिताको अविजित नतिजा निकाल्न आतुर छ ।


फिफा वरीयतामा ५५ औं स्थानमा रहेको म्यान्मार र १०१ स्थानमा रहेको नेपालबीच आज हुने खेललाई निकै महत्वका साथ हेरिएको छ । एसियाली महिला फुटबलमा राम्रो छवि स्थापित गराएकोले नेपालले आजको खेलमा जित हासिल गरेर छविलाई पुनः प्रमाणित गराउन आतुर देखिन्छ । नेपाली टिम गृह मैदानमा अन्तराष्ट्रिय ट्रफी चुम्न चाहन्छ । आज हुने खेलमा नेपाल दवावमा खेल्नेछैन । किनकी नेपालले फाइनलको यात्रा तय गरिसकेको छ । नेपाली टिमलाई आजको खेल जित्नु भन्दापनि फाइनलमा जित निकाल्नका लागि रणनीति बुन्ने अवसर हो ।