साङ्केतिक तस्वीर ।
भक्तपुर, फागुन ९ गते । सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार उक्त दुर्घटनामा परी रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका निज तामाङको भक्तपुरस्थित इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनुको साथै सोही दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते भएकामध्ये सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । उनको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही दुर्घटनामा परी घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ भने उपचारपछि घर फर्केका छन् ।