काठमाडौँ, फागुन ८ गते । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बिहिबार भएको खेलमा लेबनानलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो ।


नेपालको जितमा खेलको पहिलो हाफको ४१ औँ मिनेटमा कर्णर किकपछि रिबाउन्ड भएको बललाई सदुपयोग गर्दै ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् । साम्बाले प्रहार गरेको यही गोल नै नेपाललाई फाइनलमा पु¥याउन पर्याप्त भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले १–० को अग्रता बनाएको थियो । रश्मी तामाङलाई आराम दिएपछि प्रशिक्षकले साम्बालाई सुरुवातमै उतार्ने निर्णय सही सावित भयो ।

नेपाली प्रशिक्षकले लेबनानविरुद्धको खेलमा निशा थोकर र रश्मीकुमारी घिसिङलाई विश्राम दिए । कीर्गितस्तानविरुद्धको खेलमा निशा घाइते भएकी थिइन् । रश्मीलाई आराम दिएपछि चर्चित स्ट्राइकर सावित्रा भण्डारी सुरुवातमै आएर गोल गरिन् । पहिलो खेलमा सावित्रा दोस्रो हाफमा मैदान छिरेकी थिइन् ।

आज बिहीबार म्यान्मारसँग फराकिलो हार भोगेको कीर्गिस्तानलाई नेपालले पहिलो खेलमा १–० को झिनो अन्तरले हराएको थियो । लिग चरणमा शीर्ष दुई स्थानका टोलीले फाइनल खेल्ने तालिका छ । त्यहीअनुसार नेपाल गोलअन्तरमा पछि परेर दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।


अङ्क तालिकाको शीर्ष स्थानमा रहेको म्यानमार बिहीबार भएको खेलमा कीर्गिस्तानलाई ५–० को फराकिलो अन्तरले हराउँदै फाइनलमा पुगिसकेको छ । समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।चार देश सहभागी प्रतियोगितामा नेपालले यही फागुन ११ गते म्यानमारसँग खेल्नेछ । उक्त खेल साँझ ६ बजे हुनेछ । त्यस्तै सोही दिन दिउँसो २ बजे हुने पहिलो खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।