काठमाडौँ, फागुन ६ गते । नेपाली र विदेशी विद्वानहरूले वैज्ञानिक जर्नलमा लेखेको एउटा लेखमा २०२५ सालमा हिमताल फुटेर तमर नदीमा ठूलो बाढी आयो भनिएको रहेछ । यस कुरामा मलाई शङ्का लाग्यो । त्यो बाढी कहिले आएको थियो भन्ने कुरामा त्यो लेख अलमलिएको थियो । त्यसले कति क्षति ग¥यो भन्ने कुरा पनि त्यसमा लेखिएको थिएन । यो कुरा कहाँ पत्ता लगाउने होला भनी २०८० सालमा घोत्लिएका बेलामा २०४७ सालको एउटा घटना सम्झिएँ । झापामा हात्ती र मानिसबीचको लडाइँबारे फिचर लेख्नका लागि लेखनवृत्ति पाएर जानकारी सङ्कलन गर्न झापा पुगेको थिएँ । हात्तीले कति मानिस मारे र मानिसले कति हात्ती मारे भन्ने जानकारी राख्ने निकाय प्रहरी हो भनेर ती जानकारी लिन चन्द्रगढीमा रहेको झापा जिल्ला प्रहरी कार्यालय गएँ । त्यहाँ हालैका एक–दुई वर्षको मात्र रेकर्ड पाएँ । मलाई कम्तीमा १०र१५ वर्षको ‘रेकर्ड’ चाहिने थियो ।
‘फिचर’ लेख्न पहिलोपल्ट लेखनवृत्ति पाएको थिएँ । त्यो पनि तयार गर्न नसक्ने भएँ भन्ने लागेर रन्थनिएँ र चन्द्रगढीमै रहेको राष्ट्रिय समाचार समिति ९रासस० को मेची अञ्चल कार्यालय गएँ । त्यहाँ कसैलाई चिनेको थिएन । पत्रकारिता पेसामा म नयाँनयैँ थिए । अलिअलि धक मान्दै त्यहाँका प्रमुख ईश्वरीमान श्रेष्ठलाई भेटेँ र आफ्नो समस्या सुनाएँ । उहाँले धेरै वर्षसम्म लगातार तयार गर्नुभएका समाचारमा मलाई अहिले चाहिएका जानकारी रहेछन् र ती समाचार भएका ‘बुलेटिन बाइन्डिङ’ गरेर राखिएका रहेछन् ।
असफलताको डिलमा पुग्न लागेका बेला राससको समाचार बुलेटिनले मलाई बचायो । ईश्वरीमान मेरो पत्रकारिताको गुरु हुनुभयो । उहाँले मुखले त मलाई कुनै पाठ पढाउनु भएन तर ब्यवहारले ठूलो पाठ पढाउनुभयो– जानकारी नपाए रासस जानू १ यो पाठ पढेको ३३ वर्षपछि फेरि काम लाग्यो । मैले २०२५ सालका रासस बुलेटिन पल्टाएँ । त्यसका आधारमा भन्न सकेँ– २०२५ सालमा तमर मात्र होइन, पूर्वी नेपालका धेरै नदीनालामा ठूलो बाढी आएको रहेछ । बाढी र पहिरोले खोटाङदेखि पूर्वका विभिन्न जिल्लामा दुई दिनमा २७४ जनाको ज्यान लिएको रहेछ । तमरमा बाढी आउनुका कारण हिमताल फुट्नु होइन रहेछ, बर्खा सकिएपछि मुसलधारे पानी पर्नु रहेछ ।
मैले माथि भनिएको लेखका विद्वान वैज्ञानिक लेखकहरुले यो पाठ ९जानकारी नपाए रासस जानू १० पढ्नु भएको भए उहाँहरूको लेखमा त्यस्तो गल्ती हुँदैनथ्यो । हो, अन्य सञ्चारमाध्यमका समाचार जस्तै राससका समाचारमा पनि राष्ट्रका स्मृति सङ्ग्रहित छन् । तिनले नेपालको विगतबारे बताउँछन् जुन विगतले अहिले पनि हामीलाई प्रभाव पारिरहेको छ । अरू सञ्चारमाध्यमका समाचारमा छुटेका घटना पनि राससका समाचारमा समेटिएका छन् किनभने धेरै लामो समयसम्म कुनै पनि सञ्चारमाध्यमका ‘रिपोर्टर’ राससका रिपोर्टर जति र जसरी फैलिएका थिएनन् । अरू सञ्चारमाध्यम पढ्दा आफूलाई चाहिएका जानकारी विज्ञापन र विचारका बीचबीचमा कताकति खोज्नुपर्छ । राससको बुलेटिन विज्ञापनमुक्त छ । त्यसैले त्यहाँ आफूलाई चाहिएका जानकारी खोज्न सजिलो छ ।
पूर्वी नेपाल खासगरी तमर नदीको पानी ढलोका बारेमा चाहिएका जानकारी खोज्ने क्रममा मैले झण्डै दुई महिना जति राससका बुलेटिन पढेँ । यस क्रममा मैले रासस हाम्रो देशको स्मृतिको कत्रो ठूलो भण्डार हो भन्ने कुराको अन्दाज पाएँ । कुन वर्ष वा कुन समयमा नेपालको ध्यान कता गएको थियो भन्ने कुरा त्यहाँ भेटिन्छ । जस्तै, कुनै समयमा पूर्व–पश्चिम राजमार्ग बनाउन देशका विभिन्न चन्दा उठाइएको रहेछ । निकै लामो समयसम्म भदौ १ गते अर्थात् नयाँ मुलुकी ऐन जारी भएको समय वरपर जातीय भेदभावका विरुद्ध राम्रै अभियान चलाइँदो रहेछ ।
नेपालले कस्ता कस्ता प्राकृतिक विपत्ति भोग्नु परेको रहेछ र तिनले के कस्ता क्षति पु¥याएका रहेछन् भन्ने कुराको स्मृति पनि रासस बुलेटिनमा सङ्ग्रहित रहेछन् । अहिले हाम्रासामु देखापरेको जलवायु परिवर्तनले गर्दा यस्ता समस्या कति जटिल हुन सक्लान् भन्ने कुराको अन्दाज लगाउन हामीलाई रासस बुलेटिनमा भएका यी विषयमा स्मृतिले सहयोग गर्छन् ।
त्यहाँ सङ्ग्रहित अन्य केही विषयका स्मृति
मधेसमा ट्युबवेल वा इनार सुक्ने चलन अहिलेको मात्र होइन रहेछ । पहिले पनि कुनै कुनै वर्ष खडेरी पर्दा ट्युबवेल र इनार सुकेका रहेछन् । अहिले यो चलन बढेको भने रहेछ । कुनै कुनै वर्ष नेपालमा आत्महत्या निकै व्यापक मात्रामा हुँदो रहेछ । खेतीमा विषादी हाल्ने नयाँ चलन चलेका बेला विषले आत्महत्या गर्न सजिलो पारेको रहेछ । बस दुर्घटना भएपछि त्यसको जाँच गर्न समिति गठन गर्ने चलन पनि रहेछ नेपालमा ।
रासस सरकारी सञ्चारमाध्यम भएकाले यसले सुरुदेखि लामो समयसम्म पञ्चायतको र त्यसपछि पनि खासगरी माओवादी विद्रोहका बेला सरकारी पक्षबाट मात्र समाचार दिने हुनाले त्यसमा राष्ट्रको पूर्ण स्मृति छैन भन्न सकिएला तर के सत्य हो भने त्यहाँ प्रतिपक्षले गरेका कामप्रति सरकारी प्रतिक्रिया भेटिन्छन्, जुन देशको पूर्ण तस्बिर कोर्नका लागि नहेरी हुँदैन । जस्तै, नेपाली कांग्रेसको सशस्त्र विद्रोह, बम काण्ड, मेलमिलाप र सत्याग्रहबारे बुझ्न सरकारी प्रतिक्रिया र धारणा बुझ्नै पर्छ जुन रासस बुलेटिनमा भेटिन्छन् ।
रासस बुलेटिनका समाचारलाई गहिरिएर हे¥यो भने त्यतिबेलाका उच्च ओहोदाका मानिसले गरेका कुकर्मबारे पनि प्रशस्त जानकारी पाइन्छन् । उदाहरणका लागि, राससका बुलेटिनमा पञ्चायतकालमा हुने गरेका मूर्ति चोरीका घटनाबारे बारम्बार समाचार छापिएका छन् । प्रहरीको स्रोतमा आधारित ती समाचार अकाट्य छन् । २०३१ सालका पूरै ९र अरू केही वर्षका फाटफुट० बुलेटिन पढ्दा जति नै उग्र र गाढा राजभक्तले पनि के महसुस गर्छ भने हिन्दू राजाको एकछत्र शासनकालमा नेपालमा हिन्दू देवीदेवताको विनाश भयो र त्यसकारणले हिन्दू धर्मलाई जति क्षति पुग्यो त्यति विनाश र क्षति त्यसअघि र त्यसपछि कहिल्यै भएको थिएन ।
पछि आएर रासस बुलेटिनमा समाचार मात्र होइन, महत्वपूर्ण विषयका फिचर पनि समेट्न थालियो जसले सतहका कुरा मात्रै होइन, गहिराइका कुरा पनि खोतलेका छन् । मैले केही वर्षपहिले राससका केही फिचरहरूको समीक्षा गर्ने मौका पाएको थिएँ । त्यसो गर्दा मैले तिनका विषयवस्तुमा विविधता र नयाँपन भएको पाएको थिएँ । मैले समीक्षा गरेका फिचरमध्ये एउटा पिँडालुका बारेमा थियो । हामीले सामान्यतया ध्यान नदिएको कन्दमूल पिँडालुले पोखरा छेउछाउको अर्थतन्त्रमा कति ठूलो योगदान दिएको रहेछ भन्ने थाहा पाएर म छक्क परेको थिएँ । अर्थात् राससका फिचरले हामीले उपेक्षा गरेका तर महत्वपूर्ण विषयबारे हाम्रो आँखा खोलिदिने काम पनि गर्ने गर्छ ।
हालसालै आएर राससले सङ्ग्रहालय बनाएको छ, जुन सञ्चार प्रविधिको विकासबारे बताउने स्मृति हो । आज हामीले जुन खालको चुस्त सञ्चार प्रविधि अपनाउन पाएका छौँ त्यो प्रविधिको विकास गर्न मानिस कुन कुन बाटोबाट हिँडेका थिए भन्ने कुरा यस सङ्ग्रहालयले बताउँछ । यसैगरी, राससले हाम्रो सभ्यता र संस्कृति अनि पूर्वाधारका बारेमा गरेका छुट्टाछुट्टै फोटो प्रदर्शनी र प्रदर्शित फोटो समेटिएको पुस्तक प्रकाशन हाम्रो देशको स्मृति सङ्ग्रहको अर्को पाटो हो ।
राससले अहिले चौबिसै घण्टा बुलेटिन चलाइरहेको छ । यसले भोलिका लागि झन्डै प्रत्यक्ष प्रसारको जस्तो स्मृतिको काम गर्छ । यसैगरी, नेपाली र अङ्ग्रेजीबाहेक अरू भाषामा प्रकाशित बुलेटिनले ती भाषामा पनि स्मृति थप्ने काम गरेका छन् । रासस फोटो यता आएर धेरै सञ्चारमाध्यमका लागि प्रिय र उपयोगी बन्दै गएका छन् । अरू सञ्चारमाध्यमका रिपोर्टरले देख्न र खिच्न नसकेका फोटोले अहिलेका ‘अडियन्स’लाई जानकारी दिएका छन् अनि भविष्यका लागि फोटो स्मृतिका रूपमा सेवा गर्नेछन् । राससले सुरु गरेको भिडियो सेवाका हकमा पनि यही कुरा लागू हुन्छ ।
यसअघि राससका बुलेटिन अर्धसार्वजनिक अवस्थामा थिए । अरू मानिसले हेर्नै नपाउने त होइनन् तर त्यसका लागि विशेषखालको अनुरोध गर्नुपथ्र्यो । अब यी बुलेटिनका मुद्रित संस्करण सार्वजनिक भएका छन् । ती बुलेटिन जसले पनि सजिलैसँग पढ्न पाउँछन् । यिनका इलेक्ट्रोनिक संस्करण अझ कम्प्युटरका सहायताले शब्दावलीका आधारमा खोजी गर्न सकिने खालको संस्करण अनलाइन उपलब्ध गराउन सके संसारका जुनसुकै कुनामा बसेका मानिसले पनि यसबाट फाइदा पाउने थिए । यस्तो सेवामा शुल्क लगाएर राससले अलिकति आम्दानी गर्न पनि सक्थ्यो । (लेखक मैनाली पत्रकार तथा पत्रकारिताका प्रशिक्षक हुनुहुन्छ)