बागमती, फागुन ६ गते । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सूरजचन्द्र लामिछानेले प्रदेश सरकार रासससँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) को ६४औँ वार्षिकोत्सवको अवसरमा रासस बागमती प्रदेश कार्यालय हेटौँडाद्वारा आज यहाँ आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री लामिछानेले प्रदेश सरकारका गतिविधि सम्बन्धी समाचार तथा सूचना राससमार्फत जनता समक्ष लैजानका लागि प्रदेश सरकार रासससँग सहकार्य गरी अघि बढ्न तयार रहेको बताउनुभयो ।

प्रदेश सरकारका धेरै जसो सूचना राससले सम्प्रेषण गर्दै आएको प्रसङग उल्लेख गर्दै मन्त्री लामिछाने प्रदेश सरकारले रासससँग थप व्यवस्थित रुपमा सहकार्य गर्न चाहेको बताउनुभयो । मुलुकको एकमात्र समाचार एजेन्सी राष्ट्रिय समाचार समितिको सेवालाई प्रभावकारी बनाउन ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले रासस मुलुकको प्रतिष्ठा भएकाले यसलाई सबल, आत्मनिर्भर र प्रभावकारी बनाउन राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

पत्रकार र पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री लामिछानेले सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना गरी पत्रकार परिचयपत्र वितरण, अनलाइन दत्र्ता, पत्रकार बिमा र विभिन्न विधामा कार्यरत सक्रिय तथा अग्रज पत्रकारलाई सम्मान गर्ने गरेको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य आनन्दकुमार श्रेष्ठले आवाजविहीन र दुरदराजका जनताको आवाजलाई राससले समेट्नुपर्ने सुझाव दिँदै राससले काठमाडौँ तथा नेता कार्यकर्ताको कुरा मात्र नभई दुर्गम जिल्लाका कुना काप्चा र दुरदराजका जनताको पीडासमेत सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले आधिकारिक, विश्वसनिय र सन्तुलित समाचार सम्प्रेषणमा राससले खेलेको भूमिका प्रशंसनिय रहेको उल्लेख गर्दै राससले समाचार सामग्रीहरुको गुणस्तरीयतामा सुधार ल्याउनु जरुरी रहेको बताउनुभयो । प्रविधिको विकाससँगै राससले पनि आफ्ना सेवा थप्दै जानु सकारात्मक भएको चर्चा गर्दै पाठकले राससले भ्रष्टचार, बेथितिका विरुद्ध निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । 

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले राससको सेवालाई आधुनिक सूचना प्रविधिको प्रयोग गरी मिडियालाई अझ प्रविधिमैत्री बनाउन र काम गर्ने तरिकामा निरन्तर सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले पत्रकारिता पेसा संवेदनशील भएकाले जिम्मेवारीपूर्वक पत्रकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सञ्चार क्षेत्र सङ्कटपूर्ण अवस्थामा रहेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गुणराज न्यौपानेले मुलुकमा आएको परिवर्तनसँगै राससले आफुलाई रुपान्तरित गर्दै आएको उल्लेख गर्दै सत्यतथ्य, विश्वसनिय र निष्पक्षताको आफ्नो पहिचानलाई अझै कायम राखेकामा प्रंशसा गर्नुभयो ।

रासस बागमती प्रदेश कार्यालय हेटौँडाका प्रमुख राजु विश्वकर्माको अध्यक्षतामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष सविन न्यौपाने, गैर सरकारी संस्था महासङ्घ बागमती प्रदेशका अध्यक्ष कमल विश्वकर्मा, सञ्चारिका समूह बागमती प्रदेशकी अध्यक्ष सरिता दाहाल, पत्रकारहरु सुरेश श्रेष्ठ, कुमार अधिकारीलगायतले सञ्चार क्षेत्रमा राससले पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

राससका मकवानपुरस्थित स्थानीय समाचारदाता मणिराज गौतमद्वारा सञ्चालित कार्यक्रममा अर्का स्थानीय समाचारदाता कृष्णराम परियारले सहभागीलाई स्वागत गर्नुभएको थियो ।